बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाटले एक विद्यालयमा आफ्नै लगानिमा सरस्वती मन्दिर निर्माण गरेका छन् । वडा नं ९ स्थित सरस्वती आधारभूत विद्यालय किचारमा आफ्नै लगानिमा मन्दिर निर्माण गरेका हुन् ।
बिहीबार श्रीपञ्चमीको अवसर पारेर २ लाख ११ हजार ७७५ रुपैंयाको लागतमा निर्माण भएको सरस्वती मन्दिरको उद्दघाटन समेत गरिएको छ । आफ्नो पारिश्रमिकबाट आएको रकम विद्यालयको सरस्वती मन्दिर निर्माणमा खर्च गरेको उनले सुनाए ।
यसअघि आफ्नो पारिश्रमिकबाट वडाबासीको विद्युत बिल तिर्दै आएका अध्यक्ष भाटले बचेको रकम विद्यालयमा सरस्वती मन्दिर निर्माणमा खर्च गरेको बताए । उनले भने ‘मैले निर्वाचनकै बेला आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने घोषण गरेको थिँए । सोही अनुसार सामाजिक कार्य गर्दै आएको छु ।’
बिहीबार सरस्वती मन्दिर समुद्दघाटन कार्यक्रममा बोल्दै अध्यक्ष भाटले आफूले जनप्रतिनिधि रहँदा सम्म पारिश्रमिक बापत पाइने रकम सामाजिक कार्यमा खर्च गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती बिजलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाट प्रमुख अतिथी रहेका थिए । सो कार्यक्रममा पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट लगायत विद्यालयका शिक्षक, विद्यार्थी अभिभभावक लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष भाटले आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै आएको कुराले जनप्रतिनिधिहरुप्रति नागरिकको विश्वास बढ्दै गएको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए ।





