बैतडी –लागु औषध नियन्त्रणका लागि बैतडीमा प्रहरीले विद्यार्थीहरुसंग छलफल गर्न थालेको छ । विद्यालयमै पुगेर लागु औषध नियन्त्रणका बिषयमा विद्यार्थीहरुसंग अन्तरक्रियात्मक छलफल गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
लागु औषध दुव्र्यसनमा किशोरावस्थामा मानिसहरु धेरै फस्ने भएकाले उनीहरुलाई लागु औषध नियन्त्रणका बिषयमा जानकारी दिने गरिएको उनले बताए । लागु औषधको प्रयोगले जीवनमा पार्ने प्रभावका बिषयमा छलफलमा जानकारी दिने गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । यसका साथै लागु औषध सेवन गरेमा हुने हानी र कानुनी कारवाहीका बिषयमा जानकारी दिने गरिएको छ । उनले भने ‘विद्यार्थीहरुलाई लागु औषधका बारेमा जानकारी दिने गरेका छौं । विद्यालयमै सामूहिक रुपमा विद्यार्थीहरुलाई सिकाउने गरेका छौं ।’
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयहरुमा सचेतना कक्षा सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । जिल्ला प्रहरी कार्यालयका साथै मातहतका प्रहरीचौकीबाट प्रहरी खटाएर सचेतनामूलक कक्षा सञ्चालन भइरहेका उनले बताए ।
लागु औषधको प्रयोगले मानिसको जीवन बर्बाद हुने भएकाले त्यस्तो कार्य रोक्नका लागि प्रहरीले पहल गरिरहेको उनले बताए । जिल्लाका विभिन्न विद्यालयमा पुगेर लागु औषध नियन्त्रणका बारेमा जानकारी दिने गरिएको छ ।





