बैतडी –स्थानीय सरकारहरुले सञ्चालन गर्ने योजनाहरुका अधिकांश उपभोक्ता समितिमा पुरुषको नेतृत्व हुने भएपनि पाटन नगरपालिकाका केही योजनाहरुमा महिलाहरुले नेतृत्व लिएका छन् ।
विकास निर्माणका कामहरुमा महिलालाई नेतृत्व दिएर नमूना योजना निर्माण गर्ने उद्देश्य सहित उपभोक्ता समितिमा महिलालाई प्राथमिकता दिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । नगरकार्यपालिकाबाट उपभोक्ता समितिको अध्यक्षमा महिलालाई जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।
उपभोक्ता समिति मार्फत हुने योजनाहरुमा अनियमितता भएको गुनासो धेरै आउने भएकाले महिलाहरुलाई योजनाको जिम्मा दिएको उपप्रमुख बोहराले बताए ।
महिलालाई योजनाका जिम्मा दिएपछि समयमा काम हुने र पारदर्शी हुने सबैको राय पछि उपभोक्ता समितिमा महिलालाई जिम्मेवारी दिइएको हो । पाटन नगरपालिका वडा नं १ का सबै २३ ओटै योजनाको उपभोक्ता समितिको अध्यक्षमा महिला चयन गरिएको वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । उनले भने ‘विकास निर्माणका कामहरुमा महिलाहरुको सक्रियता बढाउन, महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि हामीले उपभोक्ता समितिको अध्यक्षमा महिलालाई प्राथमिकता दिएका छौं ।’
विकास निर्माणका काममा महिलाहरुले इमान्दारीपूर्वक काम गर्ने विश्वास समेत लिइएको उपप्रमुख बोहराले बताए । महिलाको नेतृत्वमा सम्पन्न हुने योजनाहरु गुणस्तरीय हुनेमा विश्वस्त रहेको उनले बताए ।
विकास निर्माणका योजनाहरु सम्पन्न गर्ने जिम्मेवारी प्राप्त भएपछि महिलाहरु पनि खुसी भएका छन् । उनीहरु नमूना योजना बनाउने समेत बताएका छन् । योजनामा राम्रो काम गरेर देखाउने सोच रहेको डैंसीली–गेरडा सडक योजनाकी अध्यक्ष भागरथी बोहराले बताइन् ।
पाटन नगरपालिकाका १० वडा मध्ये अन्य वडामा पनि उपभोक्ता समितिको अध्यक्षमा महिला चयन भएका छन् । वडा नं ८ का पाँच योजनाको अध्यक्षमा महिला चयन भएका वडा अध्यक्ष हरिश बिष्टले बताए । वडा नं १० मा पनि ६ वटा योजनाको अध्यक्षमा महिला चयन गरिएका वडा अध्यक्ष धनबहादुर कुँवरले बताए ।





