बैतडी –पश्चिमी न्यून चापीय प्रणाली सुदूरपश्चिम प्रदेशबाट भित्रने क्रममा रहेकाले सुदूरपश्चिम प्रदेशको मौसम बदली हुने अनुमान छ । यो प्रणालीको प्रभावका कारण अबको केही दिन सुदूरपश्चिमप्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा यो प्रणालीको प्रभाव अलि धेरै पर्ने सम्भावना छ । कर्णाली प्रदेशमा पनि हल्का बर्षा र हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । हिउँदे वर्षा नहुँदा बाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश १ मा गर्मी हुन थालेको छ । बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी छ । केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि सामान्य वर्षा र हिमपात भएको थियो ।
यो बर्ष हिउँदमा खासै बर्षा नहुँदा सुख्खापन बढेको छ । यसले हिउँदे बालीको उत्पादनमा नोक्सानी पुर्याएको छ ।





