बैतडी–बैतडीमा कुष्ठरोगीको संख्या घट्दै गएको छ । जिल्लाभरी अहिले तीनजना मात्रै कुष्ठरोगीका बिरामी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले बताए ।
तीनै जना अहिले उपचारमा रहेका स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले बताए । जिल्लामा अहिले एकजना दशरथचन्द नगरपालिका र एक जना शिवनाथमा कुष्ठरोगका बिरामी रहेका छन् । यस्तै अन्यत्रबाट आएका एकजना कुष्ठरोगी पाटनमा उपचाररत रहेका बडालले बताए ।
बैतडीमा कुष्ठरोग निवारणको चरणमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रति एकहजारमा एक प्रतिशत भन्दा कम मानिस कुष्ठरोगबाट प्रभावित भएकाले कुष्ठरोग निवारणको अवस्थामा रहेको ल्याब टेक्निसियन बडालले बताए ।
प्रत्येक बर्ष जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । जिल्लामा आर्थिक बर्ष २०७७ ÷७८ मा ५जना कुष्ठरोगी रहेकोमा चालु आर्थिक बर्षमा ३ जना उपचारमा रहेका छन् ।
माइक्रोबेक्टिरियम लेप्रे नामक सुक्ष्म कीटाणुबाट कुष्ठरोग लाग्ने गर्दछ । यसले छाला र स्नायुमा असर गर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सरकारले सन् २०३० भित्र नेपालमा कुष्ठरोगीको संख्या शून्यमा झार्ने लक्ष्य लिएको छ ।





