Sagun Khabar
बैतडीको सुर्नयाले विकास बजेट अझै बाँडफाँड गर्न सकेन् 

बैतडी –चालु आर्थिक बर्षको ७ महिना बितिसक्दा समेत बैतडीको सुर्नया गाउँपालिकाले विकास बजेट अझै बाँडफाँड गर्न सकेको छैन् । जिल्लाका अन्य पालिकाहरुमा विकास निर्माणका कामहरु शुरु भइसक्दा समेत पालिकाले बजेट बाँडफाँड गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ । 

गत असारमै बजेट बाँडफाँड गरिसक्नुपर्ने भएपनि सुर्नया गाउँपालिका अहिले सम्म विकासे बजेट बाँडफाँड गर्न असफल भएको हो । समयमा बजेट बाँडफाँड नहुँदा वडाबाट सिफारिश भएर आएका योजनाहरु समेत त्यत्तिकै थन्किएका छन् । 

विकास बजेट बाँडफाँड नहुँदा चालु आर्थिक बर्षमा सञ्चालन हुने विकास निर्माणका योजनाहरु सञ्चालन हुन नसकेका गाउँपालिकाका सूचना अधिकारी प्रकाश साउँदले बताए । उनले भने ‘विकासे बजेट अझै बाँडफाँड हुन सकेको छैन् । त्यसैले विकास निर्माणका कामहरु अघि बढ्न सकेका छैनन् ।’

बजेट बाँडफाँडका बिषयमा कार्यपालिकामा छलफल भएपनि टुंगोमा पुग्न बाँकी रहेको गाउँपालिकाका प्रवक्ता प्रतापसिंह महराले बताए । विकासे बजेट बाँडफाँडमा ढिलाइ भएको उनले स्वीकार गरे । उनले भने ‘हामीले विकासे बजेट बाँडफाँडका बिषयमा अध्यक्षज्यूसंग बारम्बार भनिरहेका छौं । अघिल्लो कार्यपालिकाको मिटिङमा यो बिषयमा केही छलफल पनि भएको छ । बजेटका बिषयमा अन्तिम टुंगो लाग्न बाँकी रहेको छ ।’

यो बिषयमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले भने विकासे बजेटको बाँडफाँडको टुंगो छिटै लाग्ने बताए । बजेट बाँडफाँडका लागि लगभग सहमति भइसकेको र गाउँसभाबाट पारित गर्न मात्रै बाँकी रहेको उनले दाबी गरे । केही दिनभित्रै कार्यपालिकाको बैठकबाट बजेट बाँडफाँड गरेर पारित गरिने उनले बताए । उनले भने ‘अन्य बजेटहरुको काम भइरहेको छ । पालिकाको वडामा जाने बजेट मात्रै बाँडफाँड हुन बाँकी रहेको हो । केही दिनभित्रै बजेट बाँडफाँड हुन्छ ।’

सुर्नया गाउँपालिकाले आर्थिक बर्षको ७ महिना बितिसक्दा समेत विकास बजेट बाँडफाँड गर्न नसकेको भन्दै गाउँपालिकाबासी आक्रोशित भएका छन् । अन्य पालिकाहरुमा धमाधम विकास निर्माणका कामहरु भइरहेका बेला बजेट बाँडफाँड नै नहुनु निकै दुखद पक्ष भएको स्थानीय केशव भट्टले बताए । बजेट बाँडफाँडमा भएको ढिलाइले नागरिकमा निराशा छाएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update