Sagun Khabar
शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनुपर्ने माग 

बैतडी –शहीद दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनुपर्ने माग दोहोरिएको छ । शहीद दिवसका अवसरमा शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा आयोजित कार्यक्रममा सो माग उठेको हो । यस अघि पनि प्रतिष्ठानलाई सरकारी प्रतिष्ठानमा रुपान्तरण गर्नुपर्ने माग पटक पटक उठेको थियो । 

शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठानको रुपमा अगाडि बढाउनुपर्ने कार्यक्रममा सहभागीहरुले आवाज उठाएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

शहीद दिवसको अवसरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान सुन्दरखालीबाट प्रभातफेरीको आयोजना गरी शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रमको आयोजना गरिएको थियो । 

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, शिक्षक र स्थानीयहरुको सहभागिता रहेका थियो । 

शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनका लागि पहल गर्ने बताए । शहीदका सपना साकार पार्नका लागि आफूहरुका तर्फबाट हुने पहल पूरा गरिने उनले बताए । 

कोभीडका कारण विगत तीन बर्षदेखि कार्यक्रम गर्न नपाएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले यो बर्ष शहीदको जन्मघर बस्कोटमै कार्यक्रमको आयोजना गरिएको हो । शहीदको जन्मघरलाई पाहुना घरको रुपमा विकास गरिएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

शहीद चन्दको जन्मघरलाई संग्राहलयको रुपमा विकसित गर्ने आफूहरुको योजना रहेको उनले बताए । यसका लागि सरकारले प्रतिष्ठानलाई सरकारी प्रतिष्ठानको रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । 

शहीद दशरथचन्दको जन्मघरलाई उहाँको जीवनको श्रोतको रुपमा विकसित गर्ने उद्देश्य रहेको स्मृति प्रतिष्ठानले जनाएको छ । शहीद चन्दको नाममा खोलिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ । अध्यक्ष चन्दले भने ‘यो प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनुपर्छ भनेर हामीले धेरै पहिलादेखि भन्दै आएका छौं । अहिले पनि हाम्रो माग यही छ ।’

दशरथ चन्दको जन्म वि. सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । 

त्यसअघि उनले नेपालगंज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा शिक्षा ग्रहण गरेका थिए । तत्कालीन राणा सरकारले वि. सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

शहीद दशरथचन्दका बारेमा जानकारी गराउन प्रतिष्ठानले काम गरिरहेको भएपनि सरकारी स्तरबाट खासै सहयोग हुन नसकेको स्थानीयहरुले बताएका छन् । 

यसैबीच शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २८ औं बार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमका साथै आजै सम्पन्न भएको छ । शहीद चन्दको जन्मघरमा प्रतिष्ठानको बार्षिकोत्सव मनाइएको हो । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update