Sagun Khabar
स्वास्थ्य सम्बन्धि गीत र नाटक लेखनमा बैतडीका दुई किशोरकिशोरी उत्कृष्ट तीनमा अटाए 

बैतडी –स्वास्थ्य सचेतना गीत र नाटक लेखन प्रतियोगितामा बैतडीका दुईजना किशोरकिशोरी उत्कृष्ट तीनमा पर्न सफल भएका छन् । जिल्लाको मेलौली नगरपालिका २ का प्रकाश बडू र सुशीला भट्ट नाटक लेखन विधामा तेश्रो भएका छन् । सो विधामा काठमाण्डौंका जया ओझा प्रथम र दार्चुलाको लेकमका रमेशप्रसाद जोशी दोश्रो भएका छन् । 

यस्तै स्वास्थ्य सम्बन्धि गीत लेखन प्रतियोगितामा पनि बैतडीका प्रकाश बडू तृतीय भएका छन् । सो विधामा कैलालीका दर्पण शर्मा प्रथम र डोटीका शेरबहादुर बोगटी द्वितीय भएका छन् । 

प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्र कञ्चनपुरले स्वास्थ्य सचेतना सम्बन्धि गीत र नाटक लेखन प्रतियोगिताको आयोजना गरेको हो । 

नाटक विधामा प्रथम हुनेलाई नगद ३० हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजारका दरले पुरस्कार वितरण गरिने केन्द्रका प्रमुख हेमराज खड्काले बताए । यस्तै गीत लेखन विधामा प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजारका दरले पुरस्कार वितरण गरिने उनले बताए । पुरस्कार वितरणको मिति भने पछि तोकिने बताइएको छ । 

स्वास्थ्य सचेतना सम्बन्धि नाटक र गीत लेखनमा तेश्रो स्थान प्राप्त गर्न सफल भएका बडू र भट्ट दुवै जना बालविवाह न्यूनीकरणका लागि समुदायमा सक्रिय रहेका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा पीसवीनले सञ्चालन गरिरहेको रुपान्तरण कक्षा सहजकर्ता समेत रहेका दुवै जनाले समुदायमा बालविवाह न्यूनीकरणका लागि भूमिका खेलीरहेका छन् । 

बैतडीका प्रकाशले गत बर्ष प्रदेश किशोर–किशोरी स्वास्थ्य प्रवद्र्धन ताराको उपाधि समेत जितेका थिए । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update