Sagun Khabar
सामाजिक कार्यमा जुटे सिद्धेश्वर माविका विद्यार्थी 

बैतडी –बैतडीको एक सामुदायिक विद्यालयका विद्यार्थी अध्ययनका साथसाथै सामाजिक कार्यमा समेत सरीक भएका छन् । पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थी प्रत्येक शनिबार सामाजिक कार्यमा सरीक हुने गरेका हुन् । 

विद्यालयको सेवा क्षेत्रभित्र हरेक शनिबार विद्यार्थीहरुको सहभागितामा सरसफाई लगायतका कार्यहरु गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए । विद्यार्थीहरुलाई सामाजिक कार्यका बिषयमा व्यवहारिक ज्ञान दिनका लागि यो अभियान सञ्चालन गरिएको उनले बताए । विद्यार्थीहरुको सहभागितामा सामाजिक कार्य गर्दा उनीहरुमा पनि सामाजिक भावनाको विकास हुने गरेको अध्यक्ष भाटले बताए । उनले भने ‘हामीले विद्यार्थीहरुको सहभागितामा हरेक शनिबार सामाजिक कार्य गर्दै आएका छौं । यसले गर्दा बालबालिकाहरुमा पनि सामाजिक भावनाको विकास हुने गर्दछ ।’

‘म बाँच्छु देशको लागि, म गर्छु समाज सेवा’ नारा सहित विद्यार्थीहरुलाई सामाजिक कार्यमा सक्रिय गराउने गरिएको अध्यक्ष भाटले बताए । सामाजिक कार्य अन्तर्गत बाटोघाटो निर्माण, सरसफाइ,पानीका मूल तथा धाराहरुमा सरसफाइ गर्ने गरिएको अध्यक्ष भाटले बताए । 

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई सामाजिक कार्य सरीक गराउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटको भनाइ छ । 

पढाइका साथसाथै सामाजिक कार्यमा समेत सहभागि हुन पाउँदा विद्यालयका विद्यार्थीहरु पनि खुसी भएका छन् । सामाजिक कार्यमा सरीक हुन पाउँदा आफूहरुलाई निकै खुसी लागेको कक्षा १० छात्रा माया महराले बताइन् । उनले भनिन् ‘सबै साथीहरु मिलेर सामाजिक कार्य गर्न पाउँदा आनन्द महसुस भएको छ ।’

विद्यार्थीहरुलाई विद्यालयको पठनपाठनका साथसाथै अतिरिक्त समाजसेवाको समेत ज्ञान दिने हिसाबले अभियान सञ्चालन भइरहेको अध्यक्ष भाटले बताए । सिद्धेश्वर मावि हुक्केडाँडाले यसअघि पनि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ । जिल्लाको नमूना विद्यालयको रुपमा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाले सामाजिक कार्यका लागि नमूना अभ्यास सञ्चालन गरेको भन्दै अभिभभावकहरु समेत खुसी भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update