बैतडी –बैतडीमा लागु औषध चरेश सहित थप एक जना पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका –१ हटैराज गुर्केलीका २५ बर्षीय दीपक चन्दलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
दिपकले गुर्केलीमा सञ्चालन गर्दै आएको श्रीकेदार हटैराज खुद्रा पसलमा खानतलासी गर्दा १ सय ९९ ग्राम चरेश फेला परेको र त्यसपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।
सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले चन्दलाई पसलबाट चरेश सहित पक्राउ गरेको हो । अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
गएको तीनदिनमा बैतडीमा चरेशसहित तीनजना पक्राउ परिसकेका छन् । शनिबार जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ८ त्रिपुराका ५० बर्षीय नारायणसिंह थापा पक्राउ परेका थिए भने आइतबार जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकका ५० बर्षीय बिरसिंह कार्की पक्राउ परेका थिए । उनीहरु दुवै जनामाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले लागु औषध नियन्त्रणका अभियान सञ्चालन गरेको छ । जिल्लाभरी लागु औषध नियन्त्रणका लागि अभियान सञ्चालनमा रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।





