Sagun Khabar
सामाजिक सदभावको वनारसी जात्रा, हजारौं दर्शनार्थीले गरे दर्शन 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ३ स्थित प्रसिद्ध वनारसी धाममा जात्रा सम्पन्न भएको छ । हरेक बर्षको माघ शुक्ल दशमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । माघ शुक्ल पक्षमा पूजाआजा शुरु भइ माघ शुक्ल दशमीका दिन वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीय हरिदत्त पन्तले जानकारी दिए । 

अन्य मन्दिरमा ब्राम्हण समुदायका मानिस पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन् । दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्दछन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

वनारसी मन्दिरमा परापूर्वकालदेखि दलित समुदायका मानिसले पूजारीको काम गर्दै आएका छन् । यसले जातीय भेदभाव गर्नुहुँदैन भन्ने कुरा सिकाएको पन्तले बताए । दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै जातजातीका दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्ने चलन रही आएको पन्तले बताए । 

वनारसी धाममा लागेको जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहेको थियो । यो जात्रामा बैतडीसहित अन्य जिल्लाका दर्शनार्थीका साथै सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गर्दछन् । वनारसी मन्दिरको जात्रालाई सामाजिक सदभावको जात्राको रुपमा लिन सकिने पाटनका स्थानीय राजेन्द्र बिष्टले बताए । 

वनारसी मन्दिरमा १२ औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन् । सोही बेलादेखि सो मन्दिरमा सबै समुदायका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गरेको किम्बदन्ती रहेको छ । देवता र राक्षस बीच लडाईँ हुँदा खोपरे दैत्य नामक राक्षसलाई वनारसी देवताले मारेको भनाइ छ ।

वनारसी धाम नै विश्वनाथ ज्योर्तिलिङ्ग भएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले बताए । उनले भने, ’शास्त्रमा उल्लेख भएअनुसार पौराणिक सरयु नदी अर्थात् सुर्नयाको किनारमा विश्वनाथ धाम अवस्थित छ । त्यसैले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग हो ।’

वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्ग स्थापनाका लागि मन्दिर समेत निर्माण भइरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update