Sagun Khabar
अवैध मदिराको कारोबार गर्नेको तीनपुस्ते सार्वजनिक गरिने 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ को कार्यालयले अवैध मदिराको कारोबारमा रोक लगाएको छ । अवैध मदिराको कारोबारले समाजमा विभिन्न खालका समस्या आएकाले मदिराको कारोबारमा पूर्ण रुपमा रोक लगाइएको वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । 

वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको भएपनि अवैध रुपमा मदिराको कारोबार भइरहेको व्यापक जनगुनासो आएकाले वडा कार्यालयले सूचना प्रकाशन गरेर त्यस्तो कार्यमा संलग्न हुनेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । अवैध मदिराका कारणले महिला हिंसा लगायतका अपराधहरु बढ्न थालेका वडा अध्यक्ष ठगुन्नाले बताए । उनले भने ‘हामीले अवैध मदिराको कारोबारमा पूर्ण रुपमा रोक लगाएका छौं । कसैले विक्रि वितरण गरेको पाइएमा कानुन अनुसार कारवाही गर्छौं ।’

वडाको सूचनाको अवज्ञा गरेर कसैले मदिराको कारोबार गरेमा नगरपालिका तथा वडाबाट पाइने सेवा सुविधाबाट वञ्चित गरिने वडा कार्यालयले जनाएको छ । 

वडाभित्र कसैले मदिराको कारोबार गरेमा उसको तीनपुस्ते समेत सार्वजनिक गरिने वडा कार्यालयले जनाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ता, सिफारिश लगायतका सेवा सुविधा नदिने वडा अध्यक्ष ठगुन्नाले बताए । उनले भने ‘हामीले समाजलाई सभ्य बनाउन यो निर्णय गरेका हौं । यसको पालनाका लागि सबैलाई आग्रह गरिरहेका छौं ।’

मदिराको कारोबारमा संलग्न हुनेहरुलाई सामाजिक बहिष्कार सम्मको कारवाही गर्ने वडाको तयारी रहेको छ । 

ग्रामीण क्षेत्रमा मदिराकै कारण विभिन्न खालका घटना हुने भएकाले वडा कार्यालयको यो निर्णयको स्थानीयहरुले समेत स्वागत गरेका छन् । मदिराको कारोबारमा रोक लगाउने निर्णय निकै राम्रो भएको स्थानीय जानकी बोहराले बताइन् । उनले भनिन् ‘मदिराकै कारण धेरै हिंसाका घटनाहरु भइरहेका छन् । यसको कारोबारमा रोक लगाउने निर्णय निकै राम्रो छ । यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।’
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update