बैतडी –सुदूरपश्चिममा भूकम्पको उच्च जोखिम रहेको भूकम्पविद्हरुले बताइरहेका बेला बैतडीमा भने भूकम्प प्रतिरोधी संरचना बन्न सकेका छैनन् । सरकारी तथा निजी संरचनाहरु भूकम्प प्रतिरोधी नहुँदा भूकम्प आएको बेला क्षति हुन सक्ने बताइएको छ ।
जिल्लाका अधिकांश बजार क्षेत्रका संरचना समेत भूकम्प प्रतिरोधी नभएका बेला ग्रामीण क्षेत्रमा झन् समस्या रहेको छ । भवन आचारसंहिता अनुसार अझै घर बनाउने परिपाटी बसी नसकेको दशरथचन्द नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले बताए । उनले भने ‘नगरपालिकाले भवन आचारसंहिता लागु गरिसकेको छ । तर त्यो आचारसंहिता पालना गर्नेहरु कमै रहेका छन् ।’
दशरथचन्द नगरपालिका क्षेत्रभित्र नक्सा पास गराएर मात्र संरचना निर्माण गर्न पाइने भएपनि अझै पनि नागरिकहरुले नक्सा पास नगर्ने गरेको पाइएको छ । बजार क्षेत्रमा समेत आफूखुसी संरचना बनाउँदा त्यसले भोलिका दिनमा समस्या निम्तिने इन्जिनियर बोहराको भनाइ छ ।
भवन आचारसंहिता पालनाका लागि नगरपालिकाले बारम्बार सार्वजनिक सूचना जारी गरेको भएपनि त्यसको पालना भने हुन सकेको छैन् । यस्तै पाटन बजार क्षेत्रमा समेत भूकम्प प्रतिरोधी संरचनाहरु बन्न सकेका छैनन् ।
बैतडीका ग्रामीण क्षेत्रमा पुराना घरहरु भएकाले ठूलो भूकम्प आएमा त्यसले विपद् निम्त्याउन सक्ने आँकलन गरिएको छ । पुराना जीर्ण घरहरु भएकाले ठूलो स्केलको भूकम्प आएमा समस्या हुनसक्ने भूकम्पविद्हरुले औंल्याएका छन् ।
विगत ५ सय बर्ष यता पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नआएकाले यो क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । भूकम्प प्रतिरोधी संरचना नभएका कारण ठूलो भूकम्प आएमा यो क्षेत्रमा विपद् निम्तिन सक्ने उनले बताए । उनले भने ‘भूकम्प कतिखेर आउँछ भन्ने कुरा थाहा हुँदैन् । तर पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प आएको छैन् । त्यसैले ठूलो भूकम्पको जोखिम रहेको छ । यसबाट हुने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण हुनु आवश्यक छ ।’





