Sagun Khabar
बैतडीको पाटनमा निशुल्क स्वास्थ्य शिविर, १४४ जनाले सेवा लिए  

बैतडी –बैतडीको पाटन नगरपालिकाले नसर्ने रोगहरुको चेकजाँचका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । केही वडामा पहिला नै शिविर सञ्चालन गरेको नगरपालिकाले वडा नं १० मा आज शिविर सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । वडा नं १० स्थित सिद्धपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा १४४ जनाले सेवा लिएका छन् । 

शिविरमा ३२ जनाको सुगर जाँच गरिएको थियो भने ३२ जनाको एचआइभी परीक्षण गरिएको थियो । यस्तै ३२ जनाको पिसाबको जाँच, ४ जनाको खकार जाँच, १५ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको महराले बताए । यस्तै पाठेघर खसेका तीनजना महिलालाई रिङ पेसरी राखिएको थियो भने ९० जनाले आयुर्वेद सेवा लिएका उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिविरमा बालरोग बिशेषज्ञ डा. नविन्द्र ढकाल, आयुर्वेद चिकित्सक कृष्णसिंह धामी सहितका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा प्रदान गरेका हुन् । 

नसर्ने रोगहरु अहिले जनस्वास्थ्यको समस्याको रुपमा अगाडि आएकाले नागरिकलाई सेवा दिनका लागि वडास्तरमै निशुल्क शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

शिविरमा बाल रोग सेवा, मधुमेहको चेकजाँच, दम तथा फोक्सो सम्बन्धि रोगहरुको चेकजाँच, उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोगहरुको चेकजाँच, महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको परीक्षण, पाठेघर खसेका महिलाहरुको चेकजाँच लगायतका सेवाहरु प्रदान गर्ने गरिएको उनले बताए । 

वडा नं १, ५ र ७ मा यसअघि शिविर सञ्चालन गरिसकेको नगरपालिकाले शुक्रबार सिद्धेश्वर स्वास्थ्यचौकी र शनिबार आधारभूत स्वास्थ्य केन्द्र टकरेमा शिविर सञ्चालन हुने महराले बताए । नगरपालिकाले विभिन्न ठाउँमा सञ्चालन गरेका निशुल्क शिविरमा सहभागी भएर सेवा लिन समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update