Sagun Khabar
बैतडीका चारओटै नगरपालिकामा छैन् ‘डम्पिङ’साइड 

बैतडी –बैतडीका चारओटै नगरपालिकामा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनमा चुनौती देखिएको छ । नगरपालिकाहरुमा डम्पिङ साइड नहुँदा फोहरको व्यवस्थापनमा पालिकाहरुलाई चुनौती देखिएको हो । 

जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाले पनि बर्षौंदेखि अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । गोठलापानी बजार नजिकै सडक छेउमै नगरपालिकाले फोहर व्यवस्थापन गरिरहेको हो । सडक छेउमै फोहर व्यवस्थापन हुँदा समस्या भएको स्थानीयहरुले बताएका छन् । 

फोहरको वर्गीकरण नगरेर सबै प्रकारका फोहर एकै ठाउँमा विसर्जन गर्ने गरिएको छ । गएको सरकारले पनि नगरपालिकामा डम्पिङ साइड निर्माण गर्ने घोषणा गरेको थियो । तर त्यो घोषणा पुरानो सरकारले पूरा गर्न सकेन । नगरपालिकामा आएको नयाँ सरकारले पनि फोहर व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्थापन गर्न सकेको छैन् । नगरपालिकाले डम्पिङ साइडका लागि जमीनको खोजी गरिरहेको भएपनि उपयुक्त जमीन पाउन नसकेको नगरपालिकाका सरसफाइ तथा वातावरण शाखा प्रमुख अमर कार्कीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

वडा नं १ र २ को बजारबाट निस्कने फोहरलाई जमीन भाडामा लिएर व्यवस्थापन गरिरहेको भएपनि सदरमुकाम क्षेत्रको फोहर व्यवस्थापन अस्थायी रुपमै भइरहेको उनले बताए । 

यस्तै जिल्लाको पाटन नगरपालिकाले पनि अस्थायी रुपमै फोहर व्यवस्थापन गरिरहेको छ । नगरपालिकाको वडा नं ४ को क्षेत्रभित्र जमीन भाडामा लिएर फोहर व्यवस्थापन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए । 

तर नगर क्षेत्रभित्रको फोहर व्यवस्थापनका लागि पाटन नयाँ शहर आयोजनाले डम्पिङ साइड निर्माणको काम गरिरहेको भएपनि सो कार्य पूरा हुन सकेको छैन् । 

जिल्लाको मेलौली नगरपालिकाले पनि बसपार्कको छेउमै फोहर व्यवस्थापन गरिरहेको छ । बसपार्कको छेउमै फोहर भएकाले बालबालिकाहरुको खेल्ने थलो बनेको पत्रकार लक्ष्मण बिसीले बताए । नगरपालिकाले फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गर्न नसकेको उनले बताए । 

यस्तै पुर्चौंडी नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसकेको भन्दै बेलाबेलामा आलोचना हुने गरेको छ । बजारको फोहर जमाडी नदीमा फाल्ने गरिएको स्थानीयहरुको आरोप रहेको छ । 

तर यो आरोप भने सत्य नरहेको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए । फोहर संकलनका लागि नगरपालिकाले ठाउँ ठाउँमा बाल्टीहरु राखेको र बाल्टीको फोहर संकलन गरेर एकठाउँमा व्यवस्थापन गर्ने गरिएको उनले बताए । 

फोहर व्यवस्थापनका लागि डम्पिङ साइड निर्माणका लागि पुर्चौंडी नगरपालिकाले पनि अहिले सम्म पहल चालेको छैन् । बजारको फोहर अस्थायी रुपमै व्यवस्थापन भइरहेको छ । 

बजारबाट निस्कने फोहरको उचित व्यवस्थापन नहुँदा फोहरबाट विभिन्न खालका सरुवा रोगहरु सर्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update