बैतडी–बैतडी कारागारको बन्दीगृहमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई स्थानान्तरण गरिने भएको छ ।
कारागार कार्यालयको नयाँ भवन निर्माण हुने भएकाले कैदीबन्दी तथा थुनुवाहरुलाई स्थानान्तरण गर्न लागिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजपुर, डोटीले भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले कार्तिक अन्तिम अथवा मंसिर पहिलो साता कैदीबन्दी र थुनुवाहरुलाई स्थानान्तरण गरिने उनले बताइन् ।
थुनुवाहरुलाई डडेल्धुरा कारागारमा स्थानान्तरण गरिनेछ भने कैदीबन्दीहरुलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गर्ने तयारी रहेको भण्डारीले बताइन् ।
कारागार कार्यालय बैतडीको नयाँ भवन निर्माणका लागि केकेजे कालिका एस बी जेभी सुकेधारासँग सम्झौता भइसकेको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले जनाएको छ । उक्त भवन निर्माणका लागि १० करोड बजेट विनियोजन भएको बताइएको छ ।
बैतडी कारागार जीर्ण हुँदा कैदीबन्दी तथा थुनुवाहरुलाई राख्न असहज भइरहेका बेला नयाँ भवन निर्माण हुने भएपछि अब सहज हुने बताइएको छ ।
२०४० सालमा निर्माण गरिएको जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा राख्नुपर्ने बाध्यता रही आएको छ । १५ जना पुरुष र १० जना महिला गरी २५ जना राख्न सकिने क्षमता रहेको बन्दीगृहमा अहिले ६१ जना रहेका छन् ।





