Sagun Khabar
मेलौली धार्मिक सेवा समितिद्वारा जात्रामा भएको आम्दानी सार्वजनिक 

बैतडी–बैतडीको मेलौली भगवतीमा लागेको जात्राको अवसरमा भएको आम्दानी सार्वजनिक गरिएको छ । मेलौली धार्मिक सेवा समितिले जात्राको समयमा विभिन्न शीर्षकमा २ लाख ८० हजार ५ सय २ रुपैयाँ आम्दानी भएको जनाएको छ । 

मेलौली धार्मिक सेवा समितिको आज बसेको बैठकले जात्राको समयमा भएको आम्दानी विवरण सार्वजनिक गरिएको समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए । 

यो बर्षको जात्रामा सेवा समितिले व्यवसायिक स्टलबाट २ लाख ४ हजार ४ सय १५ रुपैयाँ आम्दानी गरेको छ । यस्तै सेवा दर्ताबाट २९ हजार ७६५ रुपैयाँ, दानपेटीबाट १ हजार ३ सय ३० रुपैयाँ, सेवाभेटीबाट ४ हजार ७९२ रुपैयाँ आम्दानी भएको जनाइएको छ । यस्तै समितिको खातामा १३ हजार २ सय आम्दानी भएको अध्यक्ष नायकले बताए । 

जात्रामा भएको खर्चको विवरण भने केही दिनभित्रै सार्वजनिक गरिने समितिले जनाएको छ । जात्राको समयमा समितिले विभिन्न शीर्षकमा खर्च गरेको केही दिनभित्रै खर्च विवरण सार्वजनिक गरिने बताइएको छ । 

प्रसिद्ध मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । हिजो सम्पन्न भएको जात्रामा हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो । 

यसैबीच मेलौली मन्दिर परिसरमा आज सरसफाइ गरिएको छ । जात्राको समयमा भएको फोहर व्यवस्थापनका लागि सरसफाइ गरिएको हो । 

इलाका प्रहरी कार्यालय तस्वदेहीको अगुवाइमा धार्मिक सेवा समिति, मणिलेक माविको राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थी लगायतको सहभागितामा मन्दिर परिरसरमा सरसफाइ गरिएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update