बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले महिलाका लागि निशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । अप्राविधिक खरीदार चौथो तह र निम्न माध्यमिक÷प्राथमिक तहको शिक्षक सेवाका लागि निशुल्क कक्षा सञ्चालनको तयारी भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए ।
महिलाहरुको सरकारी सेवामा पहुँच पुर्याउनका लागि खरीदार र शिक्षक पदका लागि कक्षा सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाभित्रका इच्छुक महिलाहरुले यही माघ २५ गतेभित्र आवेदन दिन समेत आग्रह गरिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै खरीदार पदको तयारी कक्षाका लागि २५ दिन र शिक्षक पदको तयारी कक्षाका लागि २५ दिन कक्षा सञ्चालन हुने जनाएको छ । एक दिन दुई कक्षा सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।
तयारी कक्षामा सहभागी हुन चाहनेहरुले नगरपालिकाले तयार पारेको फारम भरी शैक्षिक योग्यताका प्रमाणपत्र संलग्न गर्नुपर्नेछ । यस्तै एक प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
नगरपालिकाले सञ्चालन गरेको कक्षामा निरन्तर सहभागी हुन सक्ने र १८ बर्ष पूरा भइ ४० बर्ष ननाघेका महिलाहरुले आवदेन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग र शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रममा आधारित रहेर कक्षा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।






