बैतडी –बैतडीको पाटन नगरपालिका ८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीमा शुक्रबार नसर्ने रोगहरुको चेकजाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । पाटन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको शिविरमा ७२ जना बालबालिका सहित २२५ जनाले सेवा लिएका छन् ।
नसर्ने रोगहरुको चेकजाँचका लागि घरदैलोको स्वास्थ्यचौकीमा सेवा दिने उद्देश्यले आयोजना गरेको शिविरमा १३२ जनाको सुगर चेकजाँच गरिएको छ । यस्तै १३२ जनाको एचआइभी चेकजाँच गरिएको छ भने ६ जनाको पिसाब जाँच गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
यस्तै शिविरमा ४ जनाको खकारको जाँच, ७ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण, पाठेघर खसेका एकजना महिलालाई रिङ पेसरी र १०२ जनालाई आयुर्वेद सेवा दिइएको महराले बताए ।
एचआइभी परीक्षणका लागि बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) संस्थाले पनि सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
शिविरमा बालरोग बिशेषज्ञ डा. नविन्द्र ढकाल, आयुर्वेद चिकित्सक डा.कृष्णसिंह धामी सहितका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा प्रदान गरेका हुन् ।
नसर्ने रोगहरु अहिले जनस्वास्थ्यको समस्याको रुपमा अगाडि आएकाले नागरिकलाई सेवा दिनका लागि वडास्तरमै निशुल्क शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
वडाबासीहरुलाई उनीहरुकै घरदैलोमा रहेको स्वास्थ्यसंस्थाबाट बिशेषज्ञ सेवा उपलब्ध गराउन शिविरको आयोजना गरिएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । उनले भने ‘हामीले स्थानीयहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राखेर पालिकाभरी शिविर सञ्चालन गरिरहेका छौं । यसले गर्दा नगरबासीहरुले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् ।’
शिविरमा बाल रोग सेवा, मधुमेहको चेकजाँच, दम तथा फोक्सो सम्बन्धि रोगहरुको चेकजाँच, उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोगहरुको चेकजाँच, महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको परीक्षण, पाठेघर खसेका महिलाहरुको चेकजाँच लगायतका सेवाहरु प्रदान गर्ने गरिएको उनले बताए ।
वडा नं १, ५, ७ र १० मा यसअघि शिविर सञ्चालन गरिसकेको नगरपालिकाले शुक्रबार सिद्धेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन गरेको हो । शनिबार आधारभूत स्वास्थ्य केन्द्र टकरेमा शिविर सञ्चालन हुने महराले बताए । नगरपालिकाले विभिन्न ठाउँमा सञ्चालन गरेका निशुल्क शिविरमा सहभागी भएर सेवा लिन समेत आग्रह गरिएको छ ।





