बैतडी –बैतडीको दशरथचन्द राजमार्ग धुलाम्य हुँदा यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । दरशथचन्द राजमार्गको अनारखोलीदेखि बैतडी सदरमुकामसम्म मोड सुधार गर्ने कार्यक्रम चलिरहेको छ । विगतदेखि नै मोड सुधारको योजना सञ्चालनमा रहेको छ । मोड सुधारको योजना अव्यवस्थित रुपमा सञ्चालन हुँदा सडकभरी धुलैधुलो भएको हो ।
पक्की सडकमा धुलो हुँदा आवतजावतमा निकै समस्या हुने गरेको पाटनकी यशोदा पन्तले बताइन् । मोड सुधार गर्ने नाममा पक्की सडकमा समेत क्षति पुगेको उनले बताइन् । सडकमा भएको धुलो व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिँदा नागरिकले सास्ती खेप्नुपरीरहेको छ । उनले भनिन् ‘सडकमा हिड्न मुस्किल छ । बिहान लगाएको लुगा साँझ धुलैधुलोले भरिएको छ । सडकको ठाउँठाउँमा धुलो छ । धुलो कम गर्ने कुनै उपाय अपनाइएको छैन् ।’
सडकभरी धुलो हुँदा गाडी चलाउन निकै मुस्किल हुने गरेको चालकहरुले बताएका छन् । पक्की सडक नै धुलाम्य हुँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । धुलोका कारण सडकमा गाडीहरु चिप्लिने डर भएको चालक सन्दीप भट्टले बताए ।
मोड सुधारका लागि निश्चित मापदण्ड नअपनाउँदा यात्रु र स्थानीय नागरिकहरुलाई सास्ती भएको छ । पिच सडकमै ग्रामीण सडकको जस्तै धुलो रहेको स्थानीय कृष्ण महराले बताए । पक्की सडकमा धुलो हुँदा हिडडुल गर्न समेत मुस्किल भएको उनले बताए ।
धुलाम्य सडकले निकै सास्ती हुने गरेको सडक नजिकका बासिन्दाहरुले बताएका छन् । सडकको धुलो घर सम्मै पुग्ने गरेको उनीहरुको गुनासो रही आएको छ । सडक छेउमा कार्यालय कर्मचारीहरु पनि धुलाम्य सडकले हैरान भएका छन् । बिहान लगाएको लुगा दोश्रो दिन लगाउन नमिल्ने गरेर फोहर हुने गरेको एकजना स्वास्थ्यकर्मीले बताए ।
दुई तीन बर्ष यता मोड सुधारका लागि ठेक्का मार्फत काम गराइरहेको सडक डिभिजन कार्यालयले धुलो कम गर्ने उपाय अपनाएको छैन् । सम्बन्धित निर्माण व्यवसायीसंग यो बिषयमा कुनै कुराकानी नगर्दा सधैंभरी सडक धुलाम्य हुने गरेको छ । सडकमा मोड सुधारको लागत स्टमेट तयार गर्दा धुलो कसरी कम गर्ने भन्ने बिषयमा कार्यालयले सोच्ने गरेको छैन । धुलाम्य सडकमा पानीको व्यवस्था गरेमा केही राहत हुने भएपनि कार्यालयले यो बिषयमा पनि ध्यान दिएको छैन् ।
मोड सुधारका लागि छुट्याएको बजेटमा पानीको व्यवस्थापनका लागि बजेट नभएको सडक डिभिजन कार्यालय पाटन बैतडीका सव–इन्जिनियर मुकेन्द्रविक्रम मल्लले बताए ।





