Sagun Khabar
बैतडीबासीलाई पेट्रोल पाउनै मुस्किल 

बैतडी –बैतडीमा पेट्रोल नपाउँदा स्थानीय नागरिकहरुलाई समस्या भएको छ । जिल्लामा रहेको एक मात्र पेट्रोल पम्प भण्डारी आयल स्टोर सतबाँझमा पेट्रोल नहुँदा ग्राहकहरु मार्कामा परेका हुन् । 

गृहमन्त्रालयले खुला रुपमा पेट्रोलको विक्रि वितरणमा रोक लगाएपछि बैतडीका नागरिक समस्यामा परेका हुन् । पेट्रोल पम्पमा पेट्रोल नहुँदा अन्यत्रबाट किनेर प्रयोग गर्दै आएका नागरिक अहिले समस्यामा परेका छन् । बजारमा पेट्रोलको विक्रि वितरणमा रोक लगाएपछि निकै समस्या भएको दोगडाकेदारका घनश्याम भट्टले बताए । पेट्रोल पम्पमा पनि पेट्रोल नहुने, बजारमा पनि विक्रि गर्न नदिने सरकारी निर्णय ठीक नभएको उनले बताए । उनले भने ‘पेट्रोल पम्पमा पनि पेट्रोल पाइँदैन् । बजारमा विक्रि वितरणमा रो लगाइएको छ । यसले हामी उपभोक्ताहरु मारमा परेका छौं ।’

बजारमा पेट्रोल नपाउँदा निकै हैरानी खेप्नुपरेको दशरथचन्द नगरपालिका १ का महेश भट्टले बताए । खुला रुपमा विक्रि वितरणमा रोक लगाएपछि उपभोक्ताहरुमा मारमा परेका उनले बताए । पेट्रोल पम्पमा पेट्रोल नपाइने र बजारमा पनि पेट्रोल विक्रिमा रोक लगाएपछि निकै समस्या भएको उनले बताए । उनले भने ‘पेट्रोल नहुँदा मोटरसाइकल घरमै थन्क्याउनुपर्ने अवस्था रहेको छ ।’

सतबाँझमा रहेको भण्डारी आयल स्टोरले पेट्रोल ल्याउन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् । आर्थिक समस्या देखाउँदै आयल स्टोरले पेट्रोल ल्याउन सकेको छैन् । 

पेट्रोल नपाउँदा नागरिक समस्यामा परेका बिषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बोहराले बताए । पेट्रोल पम्प सञ्चालकसंग कुरा गर्दा आर्थिक अभावमा ल्याउन नसकिएको जवाफ दिएको उनले बताए । 

पेट्रोल पम्पमा पेट्रोल पाइन छोडेपछि बजारको विक्रिवितरणलाई कसरी सहज बनाउने भन्ने बिषयमा छलफल गरिने उनले बताए । उनले भने ‘पेट्रोल पम्पमा आर्थिक अभावका कारण पेट्रोल ल्याउन नसकेको सञ्चालकले बताएपछि यसको बिषयमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्छौं । उपभोक्ताहरुलाई केही सहज हुने हिसाबले एकदुईदिन भित्र निर्णय हुन्छ ।’

गएको भदौ २५ गतेदेखि सतबाँझमा रहेको भण्डारी आयल स्टोरले पेट्रोल ल्याउन थालेको भएपनि फेरी एकदुई महिना यता पेट्रोल ल्याउन छोडिएको छ । आर्थिक अभावमा पेट्रोल ल्याउन नसकिएको आयल स्टोरका सञ्चालकले बताएका छन् ।
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update