Sagun Khabar
रेडक्रस सोसाइटी बैतडीको सभापतिमा अवस्थी 

बैतडी –नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको सभापतिमा विष्णुदत्त अवस्थी चयन भएका छन् । शनिबार गिरेगडा उपशाखाको आयोजनामा सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको ३९ औं जिल्ला सभा अधिवेशनले अवस्थीको सभापतित्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको महिला उपसभापतिमा शान्ति चन्द र पुरुष उपसभापतिमा तुलाराम भट्ट चयन भएका छन् । यस्तै मन्त्रीमा रमेशसिंह भण्डारी, कोषाध्यक्षमा पूर्णानन्द लेखक,उपमन्त्रीमा सहदेव भट्ट र उपकोषाध्यक्षमा सुदर्शन लेखक चयन भएका छन् । यस्तै ७ जना पुरुष र ३ जना महिला सदस्य पनि चयन भएका नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले बताए । नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ । 

यसअघि नेपाल रेडक्रस सोसाइटीका निवर्तमान सभापति भीमदत्त पाण्डेयको अध्यक्षतामा जिल्ला सभा अधिवेशनको उद्दघाटन सत्र सम्पन्न भएको थियो । सो समारोहमा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । 

अधिवेशनमा मन्त्री रमेशसिंह भण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पूर्णानन्द लेखकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनमा जिल्लाभरीका २१ ओटा उपशाखा मध्ये १८ ओटा उपशाखाको सहभागिता रहेको थियो । प्रत्येक उपशाखाबाट ५ जनाका दरले प्रतिनिधि आउन पाउने व्यवस्था रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले बताए । 

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको अधिवेशन सम्पन्न गर्नका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले डोटीका लक्षीराम कुँवरलाई निर्वाचन अधिकृत खटाएको थियो । 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update