बैतडी –बैतडीको सुर्नया गाउँपालिका ६ मोतीनगरदेखि भूमीराजमाण्डौं जोड्ने सडकको स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । संघीय समपुरक अनुदान र गाउँपालिकाको संयुक्त लगानिमा सडक स्तरोन्नती गर्ने कार्य शुरु भएको गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले बताए ।
संघीय समपुरक अनुदानको ५० लाख र गाउँपालिकाको ५० लाख गरेर एक करोडको लगानिमा सडक स्तरोन्नती गर्ने कार्य शुरु भएको हो । मोतीनगरदेखि मौरभटौन्या, शंकरपुर स्वास्थ्यचौकी हुँदै भूमीराजमाण्डौं सम्मको ९ किलोमिटर सडकलाई चौडा बनाउने कार्य थालिएको हो ।
शनिबार एक कार्यक्रमकाबीच सडक स्तरोन्नती कार्यको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले उद्दघाटन गरे । सडक स्तरोन्नती उद्दघाटन कार्यमा सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थी लगायतको सहभागिता रहेको थियो । सडक उद्दघाटन गर्दै गाउँपालिका अध्यक्ष कुँवरले पालिकाभित्रका सडकलाई स्तरोन्नती गर्नका लागि गाउँपालिकाले पहल गरिरहेको बताए ।
यस्तै वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थीले मोतीनगरदेखि भूमीराजमाण्डौंसम्म्को सडक वडा नं ६ लाई सडक सञ्जालमा जोड्ने सडक भएकाले यसको स्तरोन्नती कार्यले वडा र पालिकबासीलाई सहज हुने बताए ।
चालु आर्थिक बर्षभित्र सडक स्तरोन्नती गर्ने कार्य अन्तर्गत सडक चौडा पार्ने, नाली बनाउने र ह्युम पाइप राख्ने योजना रहेको छ । सडकको स्तरोन्नती कार्यका लागि प्रमोद कन्सट्रक्सनसंग ठेक्का सम्झौता भएको इन्जिनियर भट्टले बताए ।





