बैतडी –सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा हवाई उडान बन्द भएको १० महिना बितिसकेको छ । ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान बन्द भएको १० महिना बितिसकेको छ।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् ।
लामो समयदेखि हवाई उडान सेवा बन्द भएकाले कहिलेदेखि उडान हुन्छ भन्ने कुरा एकीन नभएको समीट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । फागुनमा उडान हुन सक्ने भनिएपनि आधिकारिक जानकारी नआएको उनले बताए । उनले भने ‘यात्रुहरुको समस्याका कारण उडान बन्द भएको छ । यात्रुहरुको अभाव हुँदा उडान भर्न समस्या भएको छ ।’
हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकाहरुलाई सुविधा सम्पन्न अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय राकेश जोशीले बताए ।
बैतडी विमानस्थल पाटनमा टर्मिनल भवन निर्माणको काम समेत अन्तिम चरणमा पुगेको छ । तर विमानस्थलमा हवाई उडान हुनेबारे भने केही पहल हुन सकेको छैन् । ४ करोड ९७ लाखको लागतमा निर्माण भइरहेको टर्मिनल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर कविन्द्र ब्रजाचार्यले बताए ।
राज्यको करोडौं लगानी गरेर निर्माण गरिएको विमानस्थलमा हवाई सेवा सुचारु नहुनु दुखद पक्ष रहेको स्थानीयहरुको भनाइ छ । सरकारले निर्माण भएको विमानस्थलमा हवाई उडान सुचारु गर्नका लागि पहल गर्नुपर्ने पाटनका स्थानीय राजेन्द्र अवस्थीले बताए ।





