बैतडी –गएको मंसिर ४ गते सम्पन्न भएको संसदीय निर्वाचनमा बैतडीबाट उम्मेदवार बनेका २१ जनाले चुनावी खर्च बुझाएका छन् ।
चुनावको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र २१ जना उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले जानकारी दिए । संघ र प्रदेश गरेर सो चुनावमा २२ जना उम्मेदवार रहेका थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका रेवती बोहरा बाहेक सबैले चुनावी खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी फुँयालले जानकारी दिए ।
बैतडीमा संघीय संसदका लागि ११ जना उम्मेदवार बनेका थिए । यस्तै प्रदेश सभा क्षेत्र नं १ मा ६ जना र प्रदेश सभा क्षेत्र नं २ मा ५ जना उम्मेदवार बनेका थिए ।
उम्मेदवारहरुले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनावी खर्च जिल्ला निर्वाचन कार्यालय मार्फत निर्वाचन आयोगमा पठाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।





