Sagun Khabar
आयुर्वेद उपचारमा बैतडीका नागरिकको पहुँच बढ्दै 

बैतडी –पछिल्लो समयमा आयुर्वेद उपचार पद्दतिमा बैतडीका नागरिकहरुको पहुँच बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा आयुर्वेद उपचारका लागि सरकारी संरचनाहरु बनेपछि नागरिकको आयुर्वेद उपचार पद्दतिमा पहुँच बढ्दै गएको हो । 

अहिले जिल्लाको मेलौलीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने चारओटा पालिकामा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । ती केन्द्रहरु मार्फत आयुर्वेद उपचार सेवा प्रदान भइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख हिक्मतबहादुर चन्दले बताए । जिल्लाको पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । यी केन्द्रहरुबाट पूर्वकर्म र पञ्चकर्मका सेवा समेत सञ्चालनमा रहेका चन्दले बताए । 

यस्तै जिल्लाको दशरथचन्द नगरपालिकाको वडा नं ४ शाहीलेकमा र वडा नं १ मुस्याचोरमा आयुर्वेद औषधालय रहेका छन् । यी दुवै औषधालयहरुबाट आयुर्वेद सम्बन्धि विभिन्न सेवाहरु सञ्चालनमा रहेका दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । उनले भने ‘पछिल्लो समयमा आयुर्वेद उपचार पद्दतिमा नागरिकको पहुँच विस्तार हुँदै गएको छ । गाउँगाउँमा आयुर्वेद उपचारको सेवा दिन थालिएको छ । यसले गर्दा नागरिकहरुलाई सहज भएको छ ।’

दशरथचन्द नगरपालिकाको आयुर्वेद शाखाबाट वडा नं ९ का दुई ठाउँमा गाउँघर क्लिनिक समेत सञ्चालनमा रहेका कलौनीले बताए । वडा नं ९ को डसाइनीमा प्रत्येक महिनाको ११ र २६ गते गाउँघर क्लिनिक सञ्चालन हुने गरेको छ भने लमौतामा प्रत्येक महिनाको १४ र २८ गते गाउँघर क्लिनिक सञ्चालन हुने गरेको छ । यी क्लिनिकहरुबाट नागरिकलाई आयुर्वेदका विभिन्न सेवाहरु दिने गरिएको कलौनीले बताए । 

यसैगरी जिल्लाको सिगास गाउँपालिका वडा नं २ मा समेत गाँजरी आयुर्वेद औषधालय सञ्चालनमा रहेको छ । 

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आयुर्वेद सेवा समेत सञ्चालनमा रहेको छ । जीवनशैली परामर्श सेवा केन्द्रका नामबाट आयुर्वेद सेवा सञ्चालनमा रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

आयुर्वेद औषधिहरुको प्रतिअसर नहुने भएकाले यस्ता औषधि र उपचारमा नागरिकको विश्वास समेत बढ्दै गएको कलौनीले बताए । उनले भने ‘आयुर्वेद औषधि उपचारको प्रतिअसर हुँदैन् । त्यसैले यो उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएको छ ।’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जीवनशैली परामर्श सेवा केन्द्र, आयुर्वेद औषधालयहरुबाट समान्य चेकजाँचका साथै पूर्वकर्म र पञ्चकर्म सेवा सञ्चालन भइरहेका छन् । यसका साथै शिरोवस्ती, कटीवस्ती, जानुवस्ती लगायतका उपचार पद्दतिहरु पनि सञ्चालनमा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मतबहादुर चन्दले बताए । 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update