Sagun Khabar
वनारसी (विश्वनाथ) धामको मन्दिर निर्माण कार्य अन्तिम चरणमा 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ३ स्थित वनारसी (विश्नाथ) धामको मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करीब दुई बर्ष अघिदेखि निर्माण शुरु गरिएको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण समितिका सल्लाहकार मानबहादुर चन्दले बताए । 

वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको जगदगुरुले बताएपछि मन्दिर निर्माण शुरु गरिएको हो । जगदगुरु बालसन्त मोहनशरण देवाचार्य बैतडीको वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको दाबी गरेका छन् । पौराणिक सरयु (सुर्नया) नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको दाबी गरेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सो धाममा ज्योतिर्लिङ्ग स्थापनाका लागि मन्दिर निर्माणको काम भइरहेको हो । मन्दिर निर्माणका लागि स्थानीयहरुले चन्दा संकलन गरीरहेका छन् । 

वनारसी धाममा पुग्नका लागि सडकबाटो समेत निर्माण गरिएको छ भने मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको वनारसी (विश्वनाथ)धाम सेवा समाजका अध्यक्ष उत्तरबहादुर चन्दले बताए । 

मन्दिर निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यो बर्ष १० लाख विनियोजन गरेको चन्दले बताए । यस्तै यो भन्दा पहिला सांसद विकास कोषबाट २ लाख, पाटन नगरपालिकाबाट १ लाख र पाटन नगरपालिका वडा नं ३ बाट २ लाख सहयोग प्राप्त भएको चन्दले बताए । 

वनारसी धाममा हरेक बर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा दलित समुदायका पूजारी हुन्छन् भने सबैले प्रसाद ग्रहण गर्ने गर्दछन् । वनारसी धाममा परापूर्वकालदेखि नै सामाजिक सदभावको जात्रा हुने गरेको विश्वनाथ मन्दिर निर्माण समितिका संयोजक गणेशप्रसाद पन्तले बताए । 
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update