बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना संक्रमणका बेला समातिएको मदिराका कार्टुन फिर्ता लैजान सूचना जारी गरेको छ ।
कोरोनाको समयमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको सूचना अवज्ञा गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम मुद्दा चलाएर कारबाही भइसकेको प्रशासनले जनाएको छ । मुद्दा किनारा लागेर फिर्ता लैजानुपर्ने मदिरा अहिले सम्म सम्बन्धित व्यक्तिहरुले फिर्ता नलगेकाले सात दिने सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।
गएको पौष २४गते सूचना जारी गर्दा कोही नआएकाले फेरी ७ दिने सूचना काटिएको उनले बताए । प्रहरीले समातेका मदिराका कार्टनु बेवारिसे अवस्थामा रहेकाले सम्बन्धि व्यक्तिलाई मदिरा लैजान आग्रह गरिएको छ ।
बैतडी प्रहरीले कोरोना कालमा मदिरा ओसारपसार गर्ने २० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका २० मध्ये ७ जनालाई मुद्दा चलेको थियो भने सेवन गर्ने १६ जनालाई जरिवाना गरिएको थियो ।






