बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ६ मा मृत फेला परेका डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का पदमराज अवस्थीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
माघ १९ गते पाटन नगरपालिका ६ मा मृत फेला परेका पदमको पोष्टमार्टम रिपोट आइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । पोष्टमार्टम रिपोट आएपछि अनुसन्धान अघि बढाएको उनले बताए ।
माघ १७ गते पाटन पुगेका पदम त्यसको दुईदिनपछि मृत फेला परेका थिए । माघ १७ गतेदेखि उनको सम्पर्कमा रहेकाहरुसंग सोधपुछ भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । उनले भने ‘जनरल पोष्टमार्टमको रिपोट आएको छ । हामीले भिसेरा पनि पठाएका छौं । त्यो रिपोट आउन बाँकी छ । हामीले आफ्नो तरीकाले अनुसन्धान अगाडि बढाएका छौं ।’
लकडाउन भन्दा पहिला पाटनकै एक होटलमा काम गर्दै आएका अवस्थीको खल्तीमा आफ्नो पैसा असुल गरिदिन प्रहरीलाई आग्रह गरेको निवेदन समेत फेला परेको थियो ।
मृतकका आफन्तले पदमको मृत्यु नभइ कसलै मारेर फालेको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् । मृतकका आफन्तले सत्यतथ्य अनुसन्धान गर्नका लागि प्रहरीमा निवेदन समेत दिएको छ ।
पदमको हत्या भएको हो वा आँफै मृत्यु भएको भन्नेबारेमा केही नखुलेको प्रहरीले जनाएको छ । अहिले नै के भएको हो भन्ने कुरा भन्न सकिने अवस्था नरहेको प्रहरी निरीक्षक खत्रीले बताए । उनले भने ‘हामी अहिले पनि अनुसन्धानमै छौं । उनको कसरी मृत्यु भयो भन्ने कुरा अहिले एकीन भन्न सकिने अवस्था छैन् ।’





