बैतडी –बैतडीमा विभिन्न कारणले सडक बन्द गर्ने कार्यलाई रोक्नका लागि समन्वय समिति गठन गरिएको छ । विभिन्न खालका चक्काजाम, आमहड्ताल भएका बेला मुख्य राजमार्ग बन्द गर्ने कार्यलाई रोक्नका लागि समन्वय समिति गठन भएको हो ।
प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवालाहरुसंग अन्तरक्रियात्मक छलफल गरेर समन्वय समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनले भने ‘हामीले विभिन्न कारण सडक बन्द हुने भएकाले त्यो बेला सडकमा हुने बन्दलाई निस्तेज पार्न समन्वय समिति गठन गरेका छौं ।’
दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भानदेव भट्टको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिमा दशरथचन्द नगरपालिका वडा नं ५ र ६ का वडा अध्यक्षहरुलाई सदस्य राखिएको छ । यस्तै उद्योग वाणिज्य संघ, यातायात समितिका प्रतिनिधि, प्रहरी लगायत समितिमा रहेका प्रहरी निरीक्षक खत्रीले बताए ।
समितिले मुख्य राजमार्ग हुन सक्ने अवाञ्छित क्रियाकलाप रोक्न समेत सहजीकरण गर्नेछ । विभिन्न समयमा सडक बन्द हुँदा सर्वसाधारणले दुःख पाउने भएकाले त्यस्ता कामलाई निरुत्साहित गर्न पनि समितिले पहल गर्ने प्रहरी निरीक्षक खत्रीले बताए ।
समाजमा हुने विभिन्न खालका अपराध नियन्त्रणका लागि प्रहरीले समुदायसंग मिलेर काम गरिरहेको प्रहरी निरीक्षक खत्रीले बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँगाउँमा विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेका उनले बताए ।





