बैतडी –यो बर्ष हिउँदे बर्षा नहुँदा गहुँबाली सुक्न थालेको छ । माघको दोश्रो साता समान्य पानी परेपनि हिउँदे बर्षा नहुँदा गहुँबाली सुक्न थालेको किसानहरुले बताएका छन् । बैतडीका उच्च लेकाली क्षेत्र र सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली सुक्दै गएको किसानहरुले बताएका छन् ।
सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको सुर्नयाका किसान देवदत्त अवस्थीले बताए । उनले भने ‘ लगातारको खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । यो बर्ष भोकमरी हुने सम्भावना देखिएको छ ।’
लगातारको खडेरीले गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको सिगासका किसान कर्णबहादुर बोहराले बताए । पानी नपर्दा खेतमा लगाएको गहुँबाली पहँेले हुन थालेको उनले बताए ।
सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानहरुको भनाइ रहेको छ ।
बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँखेती हुँदै आएको छ । यो मध्ये ८ हजार ५ सय हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख मिलन कँडेलले जानकारी दिए । उनले भने ‘खडेरीका कारण गहुँबाली उत्पादनमा ह्रास आउन सक्छ । लगातारको खडेरीले गहुँबालीमा नराम्रो प्रभाव परेको छ ।’
खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपछि खाद्यान्न आयातमा वृद्धि हुने भएको छ ।





