Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा सेवा विस्तार हुँदै, बिरामीलाई सहज 

बैतडी –जिल्ला अस्पताल बैतडीमा पछिल्लो समयमा सेवा विस्तार हुँदै गएको छ । जिल्ला अस्पतालमा तीनजना बिशेषज्ञ सहित अहिले ११ जना चिकित्सक कार्यरत रहेका जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए । 

जिल्ला अस्पतालमा बिशेषज्ञ जनशक्तिसहित सेवा विस्तार भएपछि बिरामीहरुलाई पनि सजिलो भएको उनले बताए । उनले भने ‘समान्य रोगका लागि बाहिरका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अहिले हामीले अस्पतालबाटै बिशेषज्ञ सेवा प्रदान गरिरहेका छौं ।’

जिल्ला अस्पतालमा अहिले हाडजोर्नीको अप्रेशनसहित सेवा उपलब्ध छ भने बालरोग बिशेषज्ञ समेत कार्यरत रहेको अवस्था छ । यस्तै एमडजीपी डाक्टरका साथै दन्तरोग उपचार समेत सञ्चालनमा आएको श्रेष्ठले बताए । 

उपचार सेवाका साथै प्रयोगशाला सेवामा समेत सुधार आएको जिल्ला अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए । अस्पतालको प्रयोगशालामा कल्चर सेवा शुरु भएको उनले बताए । 

कल्चर सेवा शुरु भएपछि कुन रोग के कारणले लागेको हो र कुन रोगमा के औषधि प्रयोग गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने अस्पतालका प्रमुख डा.श्रेष्ठले बताए । उनले भने ‘हाम्रो प्रयोगशालामा कल्चर सेवा पनि शुरु भएको छ । यसले बिरामीहरुलाई झन् सहज हुनेछ ।’

समान्य रोगको उपचारका लागि जिल्ला अस्पतालबाट रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको सूचना अधिकारी डोबालले बताए । अहिले जिल्ला अस्पतालबाट समस्यामा परेका नागरिकलाई निशुल्क सेवा दिने समेत गरिएको छ । 

सामाजिक सेवा इकाइबाट जेष्ठ नागरिक, अति गरीब, महिला स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, सडक दुर्घटनाका घाइते लगायतलाई निशुल्क सेवा दिने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. श्रेष्ठले जानकारी दिए । 

यस्तै लैंगिक हिंसा प्रभावित, कुपोषित बालबालिका, प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिहरु, शहीद परिवार, लोपोन्मुख जातीका व्यक्तिहरुलाई निशुल्क सेवा दिने गरेको डा. श्रेष्ठले जानकारी दिए । 

गएको आर्थिक बर्षदेखि नै सामाजिक सेवा इकाइबाट तोकिएका लक्षित समुदायका नागरिकहरुलाई सेवा दिने कार्य भइरहेको उनले बताए । अस्पताल नयाँ भवनमा सरेसंगै सेवा प्रवाहमा समेत सहजता भएको डा. श्रेष्ठले जानकारी दिए । 

सामाजिक सेवा इकाइ मार्फत निशुल्क उपचार पाउन थालेपछि जेष्ठ नागरिकहरुलाई पनि सहज भएको सामाजिक सेवा इकाइका प्रमुख खेमराज भट्टले बताए । सामाजिक सेवा इकाइबाट निशुल्क सेवा प्राप्त गर्ने व्यक्तिहरुले आफ्नो परिचय खुल्ने कागज सहित अस्पतालमा आए उनीहरुलाई निशुल्क रुपमा सेवा दिने गरिएको भट्टले बताए ।

पछिल्लो समयमा अस्पतालले प्रदान गर्ने सेवाबाट नागरिक पनि खुसी हुँदै गएका छन् । अस्पतालबाट राम्रो सेवा पाइने गरेको सुर्नयाका स्थानीय अर्जुन मडैले बताए । जिल्ला अस्पतालबाटै जटील बिरामीहरुको समेत उपचार हुँदा सहज भएको उनले बताए । उनले भने ‘जिल्ला अस्पतालबाट अहिले राम्रो सेवा प्रदान भइरहेको छ ।यसले हामी सेवाग्राहीहरुलाई सहज भएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update