Sagun Khabar
बैतडीको नागार्जुन स्वास्थ्यचौकीमा ९ महिनादेखि प्रसुती सेवा बन्द, सेवाग्राहीलाई सास्ती 
तस्बिर :सुत्केरी व्याथा लागेकी महिलालाई स्ट्रेचरमा बोकेर स्वास्थ्यसंस्था लगिँदै

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं –११स्थित नागार्जुन स्वास्थ्यचौकीमा गएको ९ महिनादेखि प्रसुती सेवा बन्द रहेको छ । प्रसुती सेवा आंशिक रुपमा बन्द भएपछि सेवाग्राहीलाई निकै सास्ती भएको छ । घर नजिकै रहेको स्वास्थ्यचौकीमा सेवा सुचारु नहुँदा अन्यत्र जानुपर्ने बाध्यता रही आएको स्थानीय नरी पन्तले बताए । 

नागार्जुन स्वास्थ्यचौकीमा दुईजना अनमी कार्यरत रहेका र दुवैजनाको सानो बच्चा भएकाले प्रसुती सेवा अनियमित भएको स्वास्थ्यचौकीका प्रमुख गोपीकृष्ण भण्डारीले बताए । स्वास्थ्यचौकीमा प्रसुती सेवा अनियमित भएको बारेमा वडा र नगरपालिकालाई जानकारी गराइसकेको भएपनि जनशक्तिको व्यवस्थापन नहुँदा समस्या भएको उनले बताए । उनले भने ‘स्वास्थ्यचौकीमा चौबिसै घण्टा प्रसुती सेवा सञ्चालनका लागि जनशक्तिको अभाव रहेको छ । स्वास्थ्यचौकीबाट पटक–पटक आग्रह गर्दा समेत कसैले चासो दिएका छैनन् ।’

स्वास्थ्यचौकीमा ९ महिनादेखि प्रसुती सेवा बन्द हुँदा स्थानीयहरुले टाढाका स्वास्थ्य संस्थामा धाउनुपर्ने अवस्था रहेको छ । प्रसुती सेवा जस्तो संवेदनशील सेवा सञ्चालनमा लापरवाही भएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् । 

शुक्रबारमात्रै एकजना आमा प्रसुती सेवाका लागि स्वास्थ्यचौकीमा पुगेका र त्यहाँ सेवा उपलब्ध नहुँदा जोशीबुंगा स्वास्थ्यचौकीमा जानुपरेको स्थानीय नरी पन्तले बताए । व्याथा लागेकी आमालाई स्टे«चरमा बोकेर स्वास्थ्य संस्था पुर्याएको र तर स्वास्थ्यकर्मी नहुँदा फेरी बोकेरै टाढाको स्वास्थ्यचौकीमा पुर्याउनु परेको उनले बताए । उनले भने ‘स्वास्थ्यचौकीमा सेवा नपाइने भए स्वास्थ्यचौकी सञ्चालन गर्नुको के अर्थ ?’

रातिको समयमा सुत्केरी व्याथा लागेका आमाहरुलाई टाढाको स्वास्थ्य संस्थामा लैजान निकै समस्या रहेको उनले सुनाए । गएको ९ महिनादेखि प्रसुती सेवा बन्द हुँदा आफूहरुलाई निकै समस्या भएको तर समस्या समाधानमा कसैले चासो नदिएको उनले आरोप लगाए । 

दशरथचन्द नगरपालिका वडा नं ११ का वडा अध्यक्ष जयदत्त पन्तले स्वास्थ्यचौकीमा देखिएको जनशक्तिको समस्यालाई समाधानका लागि पहल गरिने बताए । स्वास्थ्यचौकीमा अनमीको व्यवस्थापनका लागि नगरपालिकासंग समन्वय भइरहेको उनको दाबी छ । 

तर ९ महिनादेखि प्रसुती सेवा बन्द हुँदा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुको समेत आलोचना भइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update