Sagun Khabar
सेवाग्राहीको सजिलोका लागि काम गर्दै बैतडी प्रशासन 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले कार्यालयमा पुगेका सेवाग्राहीलाई सहजतापूर्वक सेवा प्रदान गर्न प्रयास गरिरहेको जनाएको छ । सेवाग्राहीको सजिलोका लागि प्रशासन कार्यालयभित्रै सूचना प्रविधि सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

सूचना प्रविधि कक्षबाट राहदानी तथा राष्ट्रिय परिचय पत्रको निशुल्क प्रि–इनरोलमेन्ट सेवा प्रदान भइरहेको सूचना अधिकारी बोहराले बताए । यसका साथै सेवाग्राहीहरुलाई आवश्यक पर्ने फारमहरु निशुल्क रुपमा उपलब्ध भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

गएको पौषदेखि सूचना प्रविधि कक्षा सञ्चालनमा ल्याइएको र यसले सेवाग्राहीहरुलाई सहज भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । प्रशासनले प्रदान गरिरहेको सेवामा कुनै अप्ठ्यारो भएमा कार्यालयले जानकारी गराउन समेत आग्रह गरिएको छ । 

प्रशासनले निशुल्क रुपमा सूचना प्रविधि कक्षबाट प्रदान गरिरहेका सेवा उपभोग गर्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । फारम भर्न र राहदानी तथा राष्ट्रिय परिचय पत्रको प्रि–इनरोलमेन्ट सेवाका लागि नागरिकलाई समस्या भएपछि प्रशासनले यी सेवाहरु आफ्नै हाताभित्र सञ्चालन गरेको हो । 

फारमकै लागि समेत नागरिकले धेरै पैसा खर्च गर्नुपर्नेस्थिती आएपछि सेवाग्राहीको सहजताका लागि सूचना प्रविधि कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update