बैतडी –बैतडीको तत्कालिन कुवाकोट पञ्चायतका पूर्व प्रधानपञ्च हर्षबहादुर कुँवरको निधन भएको छ । हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाउँमा बस्दै आएका ८५ बर्षीय कुँवरको शनिबार राति निधन भएको हो ।
नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र कुँवरका बुवा रहेका हर्षबहादुर लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका माओवादी केन्द्रका बैतडी सह–इन्चार्ज विक्रम कुँवरले बताए ।
पञ्चायतकालिन समयमा तत्कालिन कुवाकोट पञ्चायतमा प्रधानपञ्च तथा उपप्रधानपञ्च बसेर उनले राजनीति गरेकै कारण उनको परिवार राजनीतिमा लागेको धेरैको भनाइ रहेको छ । पछिल्लो समयमा माओवादी केन्द्रमा आवद्ध रहेका कुँवर भूमीराज मावि गहताडका संस्थापक समेत हुन् ।
कुँवरको निधनमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले शोक व्यक्त गरेका छन् ।





