Sagun Khabar
बैतडीमा ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सुरु 

बैतडी –बैतडीमा गाउँघरमा चिकित्स कार्यक्रम सुरु भएको छ । दुर्गम क्षेत्रमा बिशेषज्ञ डाक्टर सहित सेवा दिने उद्देश्यले जिल्ला अस्पताल बैतडीले सो कार्यक्रम सुरु गरेको हो । दुर्गम क्षेत्रका नागरिकलाई बिशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.दिपेश श्रेष्ठले बताए । 

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीमा दुई दिने बिशेषज्ञ शिविर सम्पन्न भएको उनले बताए । शिविरमा बालरोग बिशेषज्ञ, एमडीजीपी, दन्तरोग सम्बन्धिका चिकित्सक खटिएका उनले बताए । उनले भने ‘गाउँघरमै बिशेषज्ञ सेवा दिने उद्देश्यले हामीले गाउँघर चिकित्सक कार्यक्रम सञ्चालन गरेका हौं ।यसबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।’

गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको डा. श्रेष्ठले बताए । शिविरमा समान्य चेकजाँचका साथै बिशेषज्ञ सेवा पनि दिने गरिएको छ । यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवा लगायतका स्वास्थ्य सेवाहरु पनि शिविरमा सञ्चालन गरिएको उनले बताए । 

कुलाउ स्वास्थ्यचौकीमा सञ्चालनमा गरिएको दुईदिने शिविरमा ५ सय बढी नागरिकले सेवा लिएका छन् । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसीजी सेवा लगायत बिशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको डा. श्रेष्ठले बताए । 

यसपछि जिल्लाको सिगास गाउँपालिकाको गाँजरीमा समेत शिविर सञ्चालन गर्ने योजना रहेको डा. श्रेष्ठले बताए । अस्पतालको पहुँच भन्दा टाढा रहेका नागरिकलाई लक्षित गरेर गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update