Sagun Khabar
गढी–गोठलापानी सडक स्तरोन्नतीमा २४ लाख खर्च 

बैतडी –बैतडी सदरमुकामको मुख्य सडकको रुपमा रहेको गढी–गोठलापानी सडकमा २४ लाख खर्च भएको जानकारी सार्वजनिक गरिएको छ । सडक स्तरोन्नतीमा भएको खर्च सार्वजनिक नभएको भन्दै व्यापक जनगुनासो आएका बेला दशरथचन्द नगरपालिकाले आइतबार खर्च सार्वजनिक गरेको हो । 

जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, उपभोक्ता, सञ्चारकर्मी लगायतको उपस्थितीमा सडकको स्तरोन्नती, पार्क निर्माण लगायतमा भएको खर्च सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए । 

सडकको नाली व्यवस्थापन, वाल र बगैंचा लगायतका संरचना निर्माणमा अनुमानित २४ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । 

खर्च सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत चन्दले सडक स्तरोन्नतीको क्रममा ८ लाख ३८ हजार चार सय १६ रुपयाँ बराबरको इँटा खरीद गरिएको जानकारी दिए । ९ लाख ९० हजार आठ सय १५ रुपयाँ बराबरको ढुङ्गाको काम र ३४ हजार ६ सय ६८ रुपयाँ बराबरको माटोको काम गरी २४ लाख एक हजार ६ सय ५६ रुपयाँ बराबरको काम भएको उनले बताए । 

गढी–गोठलापानी सडक स्तरोन्नतीमा बजारमा ७० लाख खर्च भएको हल्ला निराधार रहेको उनको भनाइ थियो । 

खर्च सार्वजनिक कार्यक्रममा उपस्थित भएकाहरुले सडक स्तरोन्नती गर्ने कार्य राम्रो भएपनि प्रक्रियागत रुपमा काम नगर्नु नगरपालिकाको त्रुटी रहेको बताएका छन् । नगरपालिकाले सडक स्तरोन्नतीका लागि गरेको काम राम्रो भएपनि प्रक्रियागत हिसाबले नजानु राम्रो नभएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले बताए । उनले भने ‘बडाहाकिमको पालादेखि नबनेको सडक बन्नु धेरै राम्रो कुरा हो । कार्यविधि भित्र नरहेर काम गर्नु राम्रो होइन् ।त्यसैले विधिमा टेकेर काम गर्नु राम्रो हो ।’

सडक स्तरोन्नती गर्ने कार्य धेरै राम्रो काम भएको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक जगदीश लेखकले बताए । सडक स्तरोन्नतीको कामको बिषयमा ठूलो मासमा जानकारी दिनुपर्नेमा उनले जोड दिए । 
सडक स्तरोन्नती गर्ने कार्य राम्रो भएपनि प्रक्रियागत रुपमा त्रुटि रहेको नेपाली कांग्रेसका नगर सचिव गणेशसिंह थापाले बताए । उनले भने ‘सडक स्तरोन्नती गर्नु राम्रो भएपनि प्रक्रियागत हिसाबले अगाडि बढ्नुपर्छ । प्रक्रियागत हिसाबले यो काम भएको हो भने राम्रो भएको छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्दले सडक स्तरोन्नतीको काम कोटेशन लिएर गरिएको बताए ।  
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update