बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ स्थित निङ्गलाशैनी मावि देहीमाण्डौंको ७५ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर बोहराको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए ।
समारोहमा दशरथचन्द नगरपालिका वडा नं२ का वडा अध्यक्ष सूर्यबहादुर बोहरा,नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्ट लगायतको उपस्थिती रहेको थियो ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक प्रेमसिंह बोहराले १ करोड ५५ लाख ७५ हजार ७५२ बराबरको आय र १ करोड २६ लाख २४ हजार ८१५ बराबरको व्यय विवरण प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालयका शिक्षक तिलक बोहराले बताए । बार्षिकोत्सवको अवसरमा पण्डित परमानन्द भट्ट स्मृति अक्षयकोषबाट २७ जना छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरिएको शिक्षक बोहराले बताए । अक्षयकोषबाट प्रत्येक बर्ष ९ जना जेहेन्दार, गरीब तथा दलित छात्रछात्राहरुलाई पुस्कार दिने गरिएको छ । कोरोनाका कारण पछिल्ला दुई बर्ष बार्षिकोत्सव नभएकाले यो बर्ष कोषबाट २७ जनालाई छात्रवृति प्रदान गरिएको हो । विद्यालयका पूर्व विद्यार्थी एवं कृषि वैज्ञानिक मदनराज भट्टले आफ्ना स्वर्गीय बुवाको सम्झनामा अक्षय कोष स्थापना गरेको र सो कोषबाट हरेक बर्ष छात्रवृति प्रदान हुँदै आएको छ ।
यस्तै विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको शिक्षक बोहराले बताए । बार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको छ ।
बार्षिकोत्सवको अवसरमा विद्यालयले कक्षा १ देखि ५ सम्म चम्चा दौड, कक्षा ६ देखि ८ सम्म स्पेलिङ गेम र कक्षा ९ देखि १२ सम्म हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको थियो । यस्तै पुरुष महिला तान डोरी प्रतियोगिता समेत सञ्चालन गरिएको शिक्षक बोहराले बताए ।
यसैबीच बार्षिकोत्सवको अवसरमा दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले आफ्ना स्र्वीय बुवा र भाइको सम्झनामा एक लाख बराबरको अक्षय कोष स्थापना गरेका छन् । योगेन्द्र–चन्द्र अक्षय कोष स्थापना गरेर त्यो कोषको ब्याजबाट हरेक बर्ष जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृति गरिने विद्यालयले जनाएको छ ।





