बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँटोलमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । बैंकबाट टाढा रहेका जेष्ठ नागरिकहरुका समस्यालाई ध्यानमा राखेर गाउँटोलमै सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
बैंकबाट टाढा रहेका जेष्ठ नागरिकहरुलाई बैंक पुग्न समस्या हुने भएकाले गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहेको उनले बताए । कुनै ठाउँमा वडा कार्यालय, कुनै ठाउँमा टोलमै पुगेर भएपनि भत्ता वितरणको काम भइरहेको उनले बताए । उनले भने ‘बैंकबाट टाढा रहेका जेष्ठ नागरिकलाई लक्षित गरेर हामीले गाउँ टोलमै भत्ता वितरण गरिरहेका छौं । यसबाट नागरिकलाई सहज हुने विश्वास रहेको छ ।’
गाउँटोलमै सामाजिक सुरक्षाभत्ता पाएपछि नागरिक पनि खुसी भएका छन् । वडा कार्यालयबाटै भत्ता पाउँदा निकै खुसी लागेको डिलाशैनी ५का जानकी सार्कीले बताइन् । बैंकमा जाँदा लाइन लाग्नुपर्ने र त्यसका लागि दिनभर कुर्नुपर्ने अवस्था रहेको थियो । पालिकाले वडाबाटै सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने व्यवस्था गरेकाले सजिलो भएको उनले बताइन् ।
गाउँटोलमै सामाजिक सुरक्षाभत्ता पाउँदा टाढाको बैंक जानुपर्ने बाध्यताको अन्त्य भएको डिलाशैनी ५का गुञ्जे भुलले बताए । बैंकमा गएर भत्ता ल्याउँदा समस्या हुने गरेकोमा वडाबाटै भत्ता पाउँदा सहज भएको उनको भनाइ छ ।
बैंकबाट टाढा रहेका नागरिकलाई सहज होस भनेर घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । उनले भने ‘हामीले नागरिकलाई सहजै रुपमा भत्ता दिने प्रयास गरिरहेका छौं । बैंकबाट टाढा रहेका नागरिकलाई घरदैलोमा भत्ता वितरण गर्ने काम गरिरहेका छौं ।’
बैंकका कर्मचारीहरुलाई गाउँटोलमै बोलाएर भत्ता वितरण भइरहेको गाउँपालिकाले जनाएको छ ।





