Sagun Khabar
हिउँदे बर्षा नहुँदा डढेलोको जोखिम बढ्यो

 बैतडी –यो बर्ष हिउँद सकिनै लाग्दा समेत हिउँदे बर्षा भएको छैन् । हिउँदे बर्षा र हिमपात नहुँदा डढेलोको जोखिम बढ्दै गएको छ । यो बर्ष सुख्खापन बढेका कारण वनहरुमा डढेलाको जोखिम बढेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । 

सामुदायिक तथा राष्ट्रिय वनहरुमा यो बर्ष अन्य बर्षको तुलनामा डढेलोको जोखिम बढी भएको उनले बताए । लामो समय सम्म पानी नपर्दा सुख्खापन बढेका कारण डढेलोको जोखिम बढ्दै गएको छ । 

डढेलोका कारण लाखौंका वनसम्पदा, वन्यजन्तु नष्ट हुने भएपनि डढेलो नियन्त्रणका बिषयमा समुदायस्तरमा जनचेतनाको कमी रहेको कँडेलले बताए । सामुदायिक वनहरुको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भएपनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलले बताए । उनले भने ‘सामुदायिक वनहरुले आफ्नो कार्ययोजना अनुसार काम गरेमा डढेलो नियन्त्रण गर्न सकिन्छ । तर सामुदायिक वनहरु पनि निष्क्रिय जस्तै देखिएका छन् ।’

बैतडीमा वनजंगलमा डढेलो लागेमा घाँस पलाउँछ भन्ने गलत मान्यता रहेकाले यसले पनि डढेलोको जोखिम बढ्दै गएको कँडेलले बताए । उनले भने ‘वनमा घाँस पलाउँछ भन्ने गलत मान्यता कारणले पनि डढेलो लाग्ने गरेको छ ।’

बैतडीमा अधिकांश सल्लेरी वन रहेकाले सल्लेरी वनहरुमा डढेलोको जोखिम झन् बढी रहेको उनले बताए । सल्लेरी वनहरुमा डढेलोको जोखिम बढी हुने गरेको छ । 

शिकारीहरुका कारण पनि वनजंगलमा डढेलो लाग्ने गरेको छ । जथाभावी आगो बालेर छाड्ने प्रवृति वन सम्पदा नष्ट हुँदै गएका छन् । जिल्लामा ३६८ ओटा सामुदायिक वनहरु रहेका भएपनि सक्रिय नहुँदा वन डढेलो नियन्त्रणमा समस्या भएको छ । 

हरेक बर्ष डढेलोले वनसम्पदा नष्ट हुने गरेकोमा यो बर्ष सुख्खापन भएकाले डढेलोको जोखिम बढ्दै गएको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update