बैतडी –बैतडीको पाटन–पञ्चेश्वर सडक अन्तर्गत पाटनदेखि लोर्खा सडक स्तरोन्नती नहुँदा यात्रुहरुलाई सास्ती हुने गरेको छ । पाटन–पञ्चेश्वर सडक लोर्खादेखि मेलौली सम्म कालोपत्रेको काम भइरहेको छ भने मेलौलीदेखि पञ्चेश्वर सम्म पनि कालोपत्रेको काम अगाडि बढेको छ । तर पाटनदेखि लोर्खा सम्मको ३ किलोमिटर सडक स्तरोन्नती हुन सकेको छैन् ।
पाटनदेखि लोर्खा सम्मको सडक स्तरोन्नती नहुँदा बर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा यातायातका साधन सञ्चालनमा निकै कठीनाइ हुने गरेको छ । सडकका ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा झन् समस्या भएको पाटनका स्थानीय राजेश जोशीले बताए । उनले भने ‘पाटनदेखि लोर्खा सम्मको सडक स्तरोन्नती नहुँदा साह्रै समस्या भएको छ । सडकमा हिँडडुल गर्न नै मुस्कील भएको छ ।’
पाटन–पञ्चेश्वर सडकको शुरुवात बिन्दु नै स्तरोन्नती नहुँदा यातायातका साधन सञ्चालनमा कठीनाइ हुने गरेको छ । साँघुरो र ठाउँठाउँमा खाल्डाखुल्डी भएकै कारण सवारी साधन सञ्चालनमा समस्या रहेको पाटनका स्थानीय दिनेश बिष्टले बताए । उनले भने ‘पाटन पञ्चेश्वर सडकको पाटनदेखि लोर्खा सम्म स्तरोन्नती नहुँदा समस्या भएको छ । सडकमा हिँडडुल गर्न नै मुस्कील भएको छ ।’
पाटन –पञ्चेश्वर सडक अहिले पूर्वाधार विकास कार्यालय मातहत रहेको छ । सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सो खण्ड समेत हस्तान्तरण गरिसकेको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख रमेश चौधरीले बताए । सडक स्तरोन्नती लगायतको जिम्मेवारी अब पूर्वाधार विकास कार्यालयमा सरेको उनले बताए ।
पूर्वाधार विकास कार्यालयले भने तत्काल पाटनदेखि लोर्खा सम्म स्तरोन्नतीका लागि कुनै योजना नरहेको बताएको छ । अहिले पुराना ठेक्का भएका सडकहरुमा काम भइरहेको तर नयाँ ठेक्का आह्वान नभएको पूर्वाधार विकास कार्यालय बैतडीका जंगबहादुर थापाले बताए । उनले भने ‘पाटनदेखि लोर्खा सम्मको सडक स्तरोन्नतीका लागि अहिले कुनै योजना छैन् । बजेटको अभाव हुँदा स्तरोन्नती कार्य गर्न सकिने अवस्था छैन् ।’





