Sagun Khabar
बैतडीमा महाशिवरात्रीको तयारी, ईश्वरीगंगा धाममा सरसफाइ 

बैतडी –महाशिवरात्री पर्व नजिक आएपछि बैतडीका विभिन्न ठाउँमा रहेका शिवालयहरुमा तयारी हुन थालेको छ । जिल्लाका प्रसिद्ध धामहरुमा महाशिवरात्रीको अवसरमा मेला लाग्ने भएकाले ती धामहरुमा तयारी भइरहेको स्थानीयहरुले बताए । 

बैतडीको दशरथचन्द नगरपालिकास्थित ईश्वरीगंगा धाममा महाशिवरात्रीको पूर्व सन्ध्यामा सरसफाइ गरिएको स्थानीय गणेश कार्कीले बताए । महाशिवरात्रीको अवसरमा ईश्वरी गंगा धाममा ठूलो मेला लाग्ने गर्दछन् । 

जगन्नाथ बाबाको पवित्र बासस्थानको रुपमा ईश्वरी गंगा धामलाई लिने गरिएको कार्कीले बताए । यही फागुन ६ गते हुने महाशिवरात्री पर्वलाई ध्यानमा राखेर ईश्वरीगंगा धाममा स्थानीयहरु मिलेर सरसफाइ गरेको कार्कीले बताए । 

यस्तै महाशिवरात्रीको अवसरमा सुर्नया गाउँपालिका २ स्थित प्रसिद्ध पाताल भुवनेश्वर धाममा ठूलो मेला लाग्ने गर्दछ । सो मेलामा टाढाका दर्शनार्थीहरु पुग्ने गरेका स्थानीय मोहनबहादुर बिष्टले बताए । 

पातालभुवनेश्वर धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ भने दक्षिण एसीयाकै लामो गुफा समेत रहेको छ । 

पाताल भुवनेश्वर धामका बिषयमा मानसखण्ड पुराणमा समेत उल्लेख गरिएको जानकारहरुले बताएका छन् । यस्तै गोकुलेश्वर क्षेत्रमा पनि महाशिवरात्रीको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update