बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारमा पहिलो पटक बिजुलीबत्ती बलेको छ । राष्ट्रिय प्रशारण लाइनबाट गाउँमा पहिलो पटक बिजुलीबत्ती बलेको स्थानीय देवदत्त अवस्थीले बताए । गाउँमा बिजुली बलेपछि स्थानीयबासी खुसी भएका उनले बताए ।
गाउँका सबै घरधुरीमा विद्युतको पहुँच पुर्याउने उद्देश्य सहित विद्युत विस्तार गरिएको सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थीले बताए । गाउँमा विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडिएको र परीक्षण पनि सफल भएकाले अब घरधुरीमा विद्युत विस्तार गरिने वडा अध्यक्ष अवस्थीले बताए । उनले भने ‘वडामा विद्युतको पहुँचबाट टाढा रहेको गाउँमा विद्युत सेवा विस्तार गर्न पाउँदा खुसी लागेको छ । निर्वाचनका बेला नागरिक सामु गरेका बाँचाहरु पूरा गर्न थालेका छौं ।’
साविकको शंकरपुर गाविसको धुलिधार बस्ती विकासबाट टाढा रहेपनि पछिल्लो समयमा भने सडक र बिजुलीको सञ्जालमा जोडिएको स्थानीय दिवाकर अवस्थीले बताए । गाउँमा सडकसंगै विद्युत पनि पुगेको उनले बताए ।
अहिलेका लागि धुलिधारको गडान टोलमा विद्युत बलिसकेको छ भने अन्य ठाउँमा विद्युतको पहुँच पुर्याउने क्रम जारी रहेको छ । विद्युतको राष्ट्रिय प्रशारण लाइन पुगेपछि उद्दघाटनका लागि सोमबार गाउँमा पुगेका गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले सबै पालिकाबासीको विकासका पूर्वाधारमा पहुँच पुर्याउन आफूहरु लागि परेको बताए ।





