Sagun Khabar
बैतडीको सिउडे मेला भोलि, शिवभक्तको हुन्छ भीड 

बैतडी- बैतडीमा रहेको प्रसिद्ध धार्मीक स्थल पाताल भुवनेश्वरमा भोलि भव्य मेला लाग्ने भएको छ । जिल्लाको सुर्नया गाउँपालिका २ सिउडे स्थित प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल पाताल भुवनेश्वर धाममा भोलि शिवरात्रीका दिन भव्य मेला लाग्ने भएको हो ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धाममा प्रत्येक वर्ष महाशिवरात्रीको समयममा  भव्य मेला लाग्ने गर्दछ । चारैतिर वनजंगलले घेरेको पाताल भुवनेश्वर धामको बीचमा रहेको प्राकृतिक तालको जल शिरमा चढाएर भक्त जनहरुले गुफाको दर्शन गर्ने गर्दछन् । 

सडकबाट झण्डै आधा किलोमिटरको दुरीमा रहेको पाताल भुवनेश्वरधाममा शिवरात्रिको दिन  स्नान,शिवालयहरुमा धुपबत्ती र गुफाको दर्शन गर्ने हरुको भीड लाग्ने गर्दछ । शिवरात्रिका दिन सिउडे बजार देखि मन्दिर परिसर सम्म भोलि दर्शनार्थीहरुको भीड हुन्छ । पाताल भुवनेश्वर गुफा दक्षिण एसीयाकै लामो गुफा भएकाले  यो ठाउँमा पछिल्लो समय दर्शनका लागि आउनेहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीय नरेन्द्र  विष्टले बताए ।

यो मेलामा बैतडीका मात्रै नभएर छिमेकि जिल्लाहरु दार्चुला, बझाँङ, डडेल्धुरा र भारतबाट समेत नागरिकहरु दर्शनका लागि आउने गरेका उनले बताए । पाताल भुवनेश्वर धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । चोखो भोको रहेर धाममा धुपबत्ती गरे मनोकामना पूर्णहुने जनविश्वास रहिआएको पण्डीत खेमर राज भट्टले बताए । 

शिवरात्रीको बेला मात्रै नभएर अन्य समयमा समेत पाताल भुवनेश्वर धाममा दर्शनार्थीहरु पुग्ने गर्दछन् । यो ठाउँमा विवाह, बर्तवन्ध समेत हुने गरेका छन् । पाताल भुवनेश्वर धाममा  प्रचारप्रसारको कमिका  कारण पर्यटक भित्रिन सकेका छैन्न् । यस्तै शिवरात्रि मेलालाई  मध्यनजर गरेर   बैतडीको प्रसिद्ध पाताल भुवनेश्वर धाम क्षेत्रमा मदिरा निषेध पनि गरिएको छ ।महाशिवारत्रीको अवसरमा धाममा ठूलो मेला लाग्ने भएकाले मदिरा निषेधित क्षेत्र घोषणा गरिएको सिद्धनाथ पातालभुवनेश्वर धार्मिक वन समितिका सचिव मोहनबहादुर बिष्टले बताए। 

महाशिवरात्रीको दिनमा पाटन नगरपालिका वडा नं ४ र सुर्नया गाउँपालिका वडा नं २ को सम्पूर्ण क्षेत्रमा मदिराको कारोबारमा रोक लगाएको छ ।  मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भएकाले मेलास्थल आसपासमा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए । कसैले समितिको सूचना उल्लंघन गरी मदिराको कारोबार र सेवन गरेमा ५ हजार जरीवनासहित कानुनी कारवाही गरिने बताइएको  छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update