बैतडी –पूर्ण खोप दिगोपनाका लागि बैतडीको सुर्नया गाउँपालिकामा छलफल भएको छ । बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला भएकाले त्यसलाई निरन्तरता दिनका लागि प्रत्येक पालिकामा छलफल गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
सुर्नया गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालयको सहयोगमा शुक्रबार पालिकाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख, खोप समन्वय समितिका पदाधिकारीहरुसंग पूर्ण खोप दिगोपनाका लागि छलफल भएको हो । छलफलमा बालबालिकाहरुले पाउनुपर्ने खोप तालिका अनुसार पाए ÷नपाएको बिषयमा अनुगमन गरेर पूर्ण खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिइएको छ ।
छलफलमा कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरुलाई विभिन्न १३ रोग विरुद्ध ९ ओटा निशुल्क रुपमा प्रदान भइरहेकाले ती खोपहरु तालिका अनुसार बालबालिकाहरुले पाउनुपर्ने बताए । खोप नपाएका कारण बालबालिकाहरुमा विभिन्न रोगको संक्रमण हुन सक्ने भएकाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
पूर्ण खोप दिगोपनाका लागि वडास्तरमा समेत कार्यक्रमहरु सञ्चालन भइरहेका गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिष्टेन्ट किरण चन्दले बताए । उनले भने ‘हामीले पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण समेत गर्ने गरेका छौं ।’
छलफल कार्यक्रममा बोल्दै सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले पूर्ण खोप दिगोपनाका लागि पालिकाका तर्फबाट गर्नुपर्ने कार्य गरिने बताए ।
कार्यक्रममा बोल्दै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले स्वास्थ्य क्षेत्रमा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाका तर्फबाट गर्ने सबै कार्यहरु गरिने प्रतिबद्धता व्यक्त गरे ।
छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर, उपाध्यक्ष मञ्जु बोहरा, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी, स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्ट, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तीर्थराज भट्ट, वडा अध्यक्ष, स्वास्थ्य संस्था प्रमुख लगायतको सहभागिता रहेको थियो ।





