Sagun Khabar
कार्यसम्पादन सूचक मूल्यांकनमा बैतडीको दोगडाकेदार अग्रस्थानमा, डिलाशैनी पुछारमा 

बैतडी –राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले तयार पारेको कार्यसम्पादन सूचक मूल्यांकनमा बैतडीका १० ओटा स्थानीय तहमध्ये दोगडाकेदार गाउँपालिका अग्रस्थानमा देखिएको छ । 

१७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा दोगडाकेदार अग्रस्थानमा देखिएको हो । स्थानीय तहको हकमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ । 

यस्तै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या, पूर्ण खोप पाएका बालबालिकाहरुको संख्या, चार पटक गर्भजाँच गराएको महिलाको संख्या लगायतलाई पनि सूचकमा राखिएको छ । 

आयोगले आर्थिक वर्ष २०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

कार्यसम्पादन सूचक मूल्यांकनमा दोगडाकेदार गाउँपालिकाले ६४.३९ अंक प्राप्त गरेको छ । पुछारमा रहेको डिलाशैनी गाउँपालिकाले ४६.८१ अंक प्राप्त गरेको छ । 

दशरथचन्द नगरपालिकाले ६२.११, पाटन नगरपालिकाले ५८.५५, शिवनाथ गाउँपालिकाले ५८, पुर्चाैडी नगरपालिकाले ५६.९५, सिगास गाउँपालिकाले ५६.६५ अंक प्राप्त गरेको छ । 

सुर्नया गाउँपालिकाले ५०.३०, पञ्चेश्वर गाउँपालिकाले ५० र  मेलौली नगरपालिकाले ४८.११ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले प्रकाशन गरेको कार्यसम्पादन मुल्याङ्कनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update