बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरुलाई दिवाखाजा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । सामुदायिक विद्यालयहरुमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका २०७६ तथा दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ मा भएको व्यवस्था अनुसार दिवा खाजा कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।
केही विद्यालयहरुमा ठेक्का मार्फत दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेको गुनासो आएकाले यस्तो कार्य नगर्न निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।
गाउँकार्यपालिकाको गएको माघ ५ गते बसेको बैठकले दिवा खाजा कार्यक्रमलाई नियमानुसार सञ्चालन गर्ने निर्णय गरेकाले विद्यालयहरुलाई दिवा खाजा कार्यक्रम व्यवस्थित गर्न निर्देशन दिइएको उनले बताए । सुर्नयामा ३९ ओटा सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालनमा रहेको छ ।
नेपाल सरकारले प्रारम्भिक बालविकास कक्षादेखि कक्षा ६ सम्मका बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजा कार्यक्रम सञ्चलानका लागि विद्यालय व्यवस्थापन समितिले व्यवस्थापन गरेर विद्यार्थीहरुलाई ताजा खाजा खुवाउनुपर्ने दिवा खाजा व्यवस्थापन पुस्तिकामा उल्लेख गरिएको सुर्नया गाउँपालिकाका प्राविधिक सहायक टंकप्रसाद अवस्थीले बताए ।





