बैतडी –उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नागरिकलाई सहज हुने गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कार्यालय प्रमुखहरुको बैठकमा मन्त्री भण्डारीले नागरिकलाई छिटो छरितो सेवा प्रवाह हुने किसिमले काम गर्न निर्देशन दिएका हुन् ।
यस्तै सम्बन्धित कार्यालयहरुबाट सञ्चालनमा रहेका विकास निर्माणका कामहरुलाई पनि गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न उनले निर्देशन दिएका छन् । सरकारी सेवा प्राप्तीमा नागरिकलाई सास्ती भइरहेको भन्दै यसलाई सुधार गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘अहिले पुर्चौंडीबाट कैलाली जान नागरिकलाई सहज हुन्छ तर सदरमुकाम पुग्न निकै समस्या रहेको छ ।’
जिल्लामा रहेका कच्ची सडकमा मनामानी भाडादर कायमै रहेको भन्दै मन्त्री भण्डारीले यो बिषयलाई सल्ट्याउन पनि आग्रह गरेका छन् । यस्तै कच्ची सडकहरु ज्यानमारा सडकको रुपमा परिणत भइरहेकाले गुणस्तरीय सडक निर्माण गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘म यो सरकारमा कति दिन बस्छु त्यो कुरा मलाई नै थाहा छैन् । तर जति दिन बस्छु मेरो जिल्लाका कार्यालयहरुले सम्पादन गर्ने कामहरु नजिकबाट हेर्छु ।’
यसैबीच गृह जिल्ला बैतडीमा रहेका भण्डारीलाई उनको पार्टी नेकपा एमालेले बधाई समेत दिएको छ । पार्टी कार्यालयमै आज एक कार्यक्रमको आयोजना गरेर मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिएको एमाले बैतडीले जनाएको छ ।





