बैतडी –उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय निकै महत्वपूर्ण रहेको बताएका छन् । प्रेस चौतारी नेपालले बैतडी सदरमुकाममा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यो सरकारले औद्योगिक क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको बताएका छन् ।
सरकारको प्राथमिकता अनुसार कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको काम अघि बढेको बताए । यस्तै दोधरा–चाँदनी सुख्खा बन्दरगाहलाई अगाडि बढाउने काम भइरहेको उनले बताए । यस्तै वाणिज्य नितीमा केही परिमार्जन गर्नुपर्ने देखिएकाले प्रधानमन्त्रीको भारत भ्रमणका बेला यो कुरालाई प्राथमिकतामा राख्ने उनले बताए ।
यस्तै सरकारको प्राथमिकतामा लगानि बढाउने, उद्योग स्थापना गर्ने, उद्योगमैत्री वातारण बनाउने रहेको उनले बताए । उनले भने ‘सरकारको प्राथमिकता क्षेत्रहरु निर्धारण गरेर काम गरिरहेका छौं । मेरो मन्त्रालय अन्तर्गतका कामहरुलाई अझै प्रभावकारी बनाउने हिसाबले अगाडि बढेका छौं ।’
पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री भण्डारीले सुदूरपश्चिममा डडेल्धुरा बाहेक सबै जिल्लामा विमानस्थल रहेका र केही जिल्लामा सञ्चालनमा आउने तयारी रहेकाले यसका लागि सरकार प्रयत्नशील रहेको बताए ।
बैतडीमा थुप्रै खानीहरु रहेकाले ती खानीहरुको उत्खननका लागि सरकार लागिपर्ने मन्त्री भण्डारीले बताए । खानीहरुको पहिचान गरी ती खानीहरु उत्खननमा सरकारको ध्यान जाने उनले बताए ।
एक अर्को प्रसंगमा मन्त्री भण्डारीले राष्ट्रपतिमा मात्रै राष्ट्रिय सहमतिको कुरा गर्नु ठिक नभएको बताए । कांग्रेसले अहिले प्रतिपक्षमै बस्नु ठिक भएको बताउँदै मन्त्री भण्डारीले राष्ट्रिय सहमतिका लागि अरु बिषयमा छलफल गर्नुपर्ने बताए । सत्ताका लागि राष्ट्रिय सहमतिको कुरा उठ्नु ठीक नभएको मन्त्री भण्डारीको भनाइ छ ।





