बैतडी–सुदूरपश्चिम विश्व विद्यालय मातहतका बैतडीका ३ क्याम्पसमा नेविसंघ विजयी भएको छ । बुधबार भएको स्ववियु चुनावमा सुदूरपश्चिम विश्व विद्यालयका ३ ओटै आंगिक क्याम्पसमा नेविसंघले जित दर्ता गरेको हो ।
मणिलेक क्याम्पस मेलौली, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी र पाटन बहुमुखी क्याम्पस पाटनमा नेपालीको कांग्रेसको भातृसंगठन नेविसंघ विजयी भएको हो । मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनलाई पराजित गर्दै सभापतिमा नेविसंघका नवराज भट्ट निर्वाचित भए । उनले ७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी संयुक्त प्यानलका उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गरे ।
सो क्याम्पसको स्ववियु सचिवमा नेविसंघकै निरज भट्ट र कोषाध्यक्षमा नेविसंघकी सुशीला नेगी विजयी भइन् । सदस्यमा नेवि संघकै पूजा चन्द, दिनेशसिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा निर्वाचित भएका छन् ।
यस्तै बैतडी सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका धनी भट्ट फराकिलो मतान्तरले विजयी भए । भट्टले १२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका योगेश मौनीले ३६ मत मात्रै ल्याए ।
सचिवमा नेविसंघकै किशोरराज पन्त र कोषाध्यक्षमा ममता भट्ट विजयी भइन् । सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी भइन् । एक सदस्यमा भने अनेरास्ववियुकी संगीता पाण्डेय निर्वाचित भइन् ।
पाटन बहुमुखी क्याम्पसमा नेविसंघकी भागरथी भट्ट विजयी भएकी छन् । नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट भट्ट सभापतिमा विजयी भएकी हुन् । उनले ८९ मत ल्याइन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका निराजन पन्तले ७४ मत ल्याए । सचिवमा एकीकृत स्वतन्त्र विद्यार्थी युनियनका भोजराज अवस्थी र कोषाध्यक्षमा अनेरास्ववियुका दिलेन्द्रसिंह ठगुन्ना निर्वाचित भए ।
त्रिविका ४ क्याम्पस मध्ये २ मा अनेरास्ववियुको प्यानल विजयी
गएको आइतबार त्रिवि अन्तर्गतका बैतडीका चारओटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा दुईमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । एक÷एक ओटाको सभापतिसहितका केही पदमा नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।
श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शम्भुराज गिरी प्यानलसहित सभापतिमा निर्वाचित भएका थिए भने नवप्रभात संयुक्त क्याम्पसको सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी भइन् ।
सेटीगाउँ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका मोहन बोहरा निर्वाचत भए भने पुर्चौंडी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघकी बागमती ऐर निर्वाचित भइन् ।
बैतडीमा त्रिविका सम्बन्धन प्राप्त ६ ओटा क्याम्पस भएपनि २ ओटा भने निर्वाचन स्थगित गरिएको छ । विद्यार्थी संगठनहरुबीच सहमति नभएको भन्दै बैतडी शिक्षा क्याम्पस शाहीलेक र सिगास शिक्षा क्याम्पसमा निर्वाचन स्थगित भएको हो ।





